विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनले महिला समानताको प्रवर्द्धन गर्दै ‘इक्वालिटी कप क्रिकेट २०२५’ को चौथो संस्करण आयोजना गर्न लागेको छ ।
फाउण्डेशनले आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सोमबारदेखि म्यारिलीबोन ज्वाला क्रिकेट ग्राउण्ड, केशलीयारोडमा सुरु हुने जानकारी गराएको हो ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गर्नेछन् । प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेश प्रदेशका सिरहा र सप्तरीका महिला क्रिकेट टिमले प्रतिस्पर्धा गर्नेछन् ।
फाउण्डेशनका संयोजक मन्दिप साहका अनुसार प्रतियोगितामा लिग चरणका ६ खेल र फाइनलसहित जम्मा ७ खेल हुनेछन् । सोमबार पहिलो खेल इलाम र सप्तरीबीच हुनेछ भने दोस्रो खेल मोरङ र सिरहाबीच हुनेछ ।
फाउण्डेशनले म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहकार्यमा महिलाको सहभागिता अभिवृद्धि गर्न ‘इक्वालिटी कप’ आयोजना गर्दै आएको जनाएको छ । संयोजक साहका अनुसार यस प्रतियोगिताले घरबाट बाहिर निस्किन नसकेका युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको छ ।
फाउण्डेसनकी बोर्ड सदस्य स्नेहा गुवाजुले मोरङकी सानु राजवंशीले मलेसियामा सम्पन्न अन्डर-१९ एसिया कपमा, निरु राजबंशी (काजोल) ले राष्ट्रिय स्तरमा र पूर्णिमा राजवंशीले कोशी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएको जानकारी दिइन् ।
प्रतियोगिता आयोजनाका लागि करिब ६ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।