काठमाडौं : टोखा नगरपालिका र शहीद गंगालाल अस्पतालबीच नगरबासीको मुटु रोगको उपचार सम्बन्धी सम्झौता भएको छ । आइतबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र टोखा नगरपालिकाबीच दुई पक्षीय सम्झौता भएको हो ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को हिउँदे नगर सभाबाट संशोधित १० लाख बजेट विनियोजन गरी मुटु रोगको उपचारका लागि प्रतिव्यक्ति २५ हजार सहयोग प्रदान गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि अस्पतालसँग सम्झौता भएको हो ।
टोखा नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने नागरिकहरुले सो सेवा प्राप्त गर्नेछन् ।
सेवा लिनका लागि नगरबासीले स्थायी बसोबास गरेको देखिने नागरिकताको प्रमाणपत्र, बसाइँसराईको प्रमाणपत्र, अतिविपन्न नागरिक भएको वडा कार्यालयको सिफारिस पत्र लिएर उपचारमा जाँदा ५० हजारसम्म नगरपालिकाले एकमुस्ट अस्पताललाई रकम उपलब्ध गराउनेछ ।
त्यस्तै नगरभित्र स्थायी बसोबास गर्ने जोसुकैले पनि मुटुको उपचार गर्दा २५ हजार सहयोग पाउनेछन् ।
सम्झौतापत्रमा मुटु रोगको उपचार गर्दा अस्पतालले नेपाल सरकारको संघीय अनुदान र प्रादेशिक अनुदानमार्फत् सञ्चालनमा रहेको निःशुल्क वा न्यून शुल्कीय उपचारको प्रक्रिया, निःशुल्क शैया तथा न्यून शुल्कीय उपचारका प्रक्रियाहरू अवलम्बन गरेश्चिात वा बाहेकको थप उपचार गराउँदा मात्र नगरपालिकाको सहयोग कार्यान्वयन हुनेछ ।
बिरामीको उपचार गरेपश्चात सम्झौताअनुसारको रकम लिनका लागि अस्पतालले नगरपालिकामा आवश्यक कागजात पेस गरेर मात्र लिन सक्ने व्यवस्था सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
आइतबारबाट असार मसान्तसम्म यो सम्झौता पत्रले काम गर्नेछ । त्यसपछि नयाँ आर्थिक वर्षमा पुनः सम्झौता नविकरण गर्नुपर्ने हुन्छ ।
सम्झौता पत्रमा टोखा नगरपालिकाको तर्फबाट नगर प्रमुख प्रकाश अधिकारी र अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा.डा.रवि मल्लले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा टोखा नगरपालिकाका नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, ११ वटै वडाका अध्यक्षहरू र कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
त्यस्तै अस्पतालको तर्फबाट प्रशासन उपप्रमुख बिमला अर्याल, बरिष्ठ प्रशासकीय अधिकृत भूपाल आचार्य सहभागी भएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै मुटु रोगको उपचारमा नगरपालिकाले सहयोग गर्ने नीति लिएको बताए । कोही पनि मानिस आर्थिक अभावबाट स्वास्थ्य सेवा लिनबाट बञ्चित हुन् नपरोस् भनेर नगरपालिकाले हिउँदे अधिशेवनबाट बजेट संशोधन गरी कार्यान्वयनमा ल्याइएको प्रमुख अधिकारीले बताए । त्यस्तै अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मल्लले नगरपालिकासँगको सम्झौताअनुसार अस्पतालले सेवा प्रदान गर्ने बताए ।