काठमाडौं : एभिन्यूज खबरका पत्रकार सुरेश रजकको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एभिन्यूज खबरले उनको सम्झनामा विभिन्न निर्णयहरू गरेको छ ।
एभिन्यूजले पत्रकार रजकको स्मृतिमा १० लाख १ रुपैयाँको ‘सुरेश रजक स्मृति कोष’ स्थापना गर्ने निर्णय गरेको छ । उक्त कोष सञ्चालनमा मृतक रजककी श्रीमती र एभिन्यूज खबरका प्रतिनिधि रहनेछन् । साथै, इच्छुक दाताहरुलाई कोषमा योगदान गर्न आग्रह गरिएको छ ।
यसैगरी, हरेक वर्ष चैत १५ गते स्व. रजकको पुण्यतिथिमा उत्कृष्ट टेलिभिजन पत्रकारलाई ‘सुरेश रजक स्मृति टेलिभिजन पत्रकारिता सम्मान’ प्रदान गरिने एभिन्यूजले जनाएको छ । साथै, एभिन्यूज खबरले स्व. रजकका परिवारका सदस्यहरूलाई रोजगारीको अवसर दिलाउन पहल गर्ने पनि बताएको छ ।
मृतकका परिवारलाई काजक्रियाका लागि एक लाख रुपैयाँ प्रदान गरिसकिएको र १० लाख रुपैयाँको बीमा रकम प्राप्त गर्न आवश्यक प्रक्रिया अघि बढाइएको एभिन्यूजले उल्लेख गरेको छ । साथै, स्व. रजकले संस्थाबाट पाउनुपर्ने सम्पूर्ण आर्थिक भुक्तानी परिवारलाई प्रदान गरिसकिएको एभिन्यूजले बताएको छ ।