लहान : सिरहाको लहानमा बढ्दो खडेरी र गर्मीलाई मध्येनजर गर्दै खानेपानी समस्या समाधान गर्न पहल भएको छ । लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले खानेपानी आपूर्तिका लागि सक्रिय कदम चालेका हुन् ।
नगरका विभिन्न क्षेत्रमा पानीको अभाव झेल्दै आएका स्थानीयबासिन्दाको समस्यालाई सम्बोधन गर्न मेयर चौधरीको नेतृत्वमा खानेपानी अभियानलाई तीव्रता दिइएको छ । लहान नगरपालिका वडा नं १३ स्थित विभिन्न बस्तीहरूमा खानेपानी सहज आपूर्तिका लागि नयाँ आयोजना सञ्चालनमा ल्याउन पहल गरिँदैछ ।
यसै क्रममा, मेयर चौधरीले औपचारिक रूपमा पूजापाठ गरी खानेपानी आयोजनाको डिप बोरिङ जडान कार्य शुभारम्भ गरेका छन् । यो आयोजना सफलतापूर्वक सम्पन्न भएमा स्थानीयबासिन्दाहरूको वर्षौंदेखिको खानेपानी अभाव अन्त्य हुने विश्वास गरिएको छ ।
लामो समयदेखि निर्माण सम्पन्न भएर पनि अलपत्र अवस्थामा रहेको खानेपानी ट्यांकीलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यले मेयर चौधरीले पहल थालेपछि स्थानीय समुदायबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन् ।
वर्षायाम बाहेक अन्य समयमा पनि यहाँका बासिन्दाहरूले पानीको चरम अभाव झेल्दै आएका थिए । यस्तो अवस्थामा नगरपालिकाको नेतृत्वले देखाएको सक्रियता प्रशंसनीय रहेको स्थानीयबासिन्दाहरूको भनाइ छ । करिब ७ सय घरधुरीलाई प्रत्यक्ष लाभ पुग्ने गरी सञ्चालन हुन लागेको यो आयोजना करिब ३ किलोमिटरको कार्यक्षेत्रमा रहने बताइएको छ । आयोजना सम्पन्न भएपछि लहान नगरपालिकाको वडा नं १३ तथा वरपरका क्षेत्रका बासिन्दाहरूले सहज रूपमा शुद्ध खानेपानी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
यस आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक सम्पूर्ण स्रोतसाधन परिचालन गर्ने जनाएको छ । साथै, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको सहकार्यमा आयोजना निर्माणको कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने लक्ष्य लिइएको छ । स्थानीयहरूका अनुसार विगतमा पनि खानेपानी सम्बन्धी विभिन्न योजनाहरू अघि सारिए तापनि तीनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या जस्ताको तस्तै थियो । तर, यसपटक नगरपालिकाले ठोस योजना बनाएर अघि बढेको देखिएकाले सफलताको आशा गरिएको छ ।
खानेपानीको समस्या समाधान गर्न नगरपालिकाले चालेको यो कदमले सम्पूर्ण नगरवासीलाई राहत दिने विश्वास गरिएको छ । नगरपालिकाको नेतृत्वले आगामी दिनमा पनि यसरी नै आधारभूत आवश्यकताका सेवाहरूमा ध्यान दिने हो भने स्थानीयबासीको जीवनस्तरमा महत्वपूर्ण सुधार आउनेछ ।