काठमाडौँ : बर्खायाममा पानी चुहिएर पढ्न नमिल्ने अवस्थामा रहेको बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीस्थित रारा माध्यमिक विद्यालय यतिबेला चिटिक्कै देखिन्छ । पानी चुहिएर हैरान बनाउने पुराना जस्ताका पाताहरू हटाएर नयाँ जस्तापाता राखिएपछि उक्त विद्यालयका विद्याथीहरू पनि यतिबेला मख्ख छन् ।
शौभाग्य शाह फाउण्डेशनले नेपाल बाल सहायता संघको सहकार्यमा रारा माध्यमिक विद्यालयको भवनलाई नयाँ जस्तापातासँगै रंग लगाएर चिटिक्क पारिदिएको छ । जुम्लामा जन्मिएका डा. शौभाग्य शाहको १५ वर्षअघि हृदयघातबाट निधन भएको थियो । उनको निधनपश्चात उनका परिवारले शौभाग्य शाहको शिक्षा क्षेत्रलाई माथि उठाउने सपनालाई साकार बनाउँदै आएका छन् ।
उनै स्वर्गीय शाहको सम्झनामा स्थापना भएको फाउण्डेशनले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । त्यसैअनुरुप रारा माध्यमिक विद्यालयलाई करिव १३ लाख रुपैयाँ बराबरको भौतिक पूर्वाधार तथा खेल सामाग्री सहयोग गरेको हो । विद्यालय पुनःनिर्माण, खेलकुद सामाग्री वितरण तथा अभिभावक भेला कार्यक्रमको अवसर पारेर फाउण्डेशनले मर्मत गरेको विद्यालय भवनहरूको सबैले अवलोकन गरेका थिए ।
भवनहरू अवलोकनपश्चात विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकलगायत स्थानीयबासीहरू खुसी देखिन्थे । पानी पर्ने समयमा भिजेर पढ्नुपर्ने र पढाउनुपर्ने बाध्यता हटेपछि विद्यार्थीका साथै शिक्षकहरू पनि खुसी भएका छन् । आफ्ना छोराछोरीलाई पानी परेको समयमा स्कुल पठाउँदा भिजेर कसरी पढ्लान् भन्ने अभिभावकको चिन्ता पनि अब हटेको छ ।
फाउण्डेशनका अध्यक्ष अनुप विक्रम शाहले पानी चुहिएर पठनपाठनमा असर परेको देखेपछि सहयोग गरेको बताए । विद्यालयको ३ वटा भवनमा जस्तापातासहित रंगरोगन गरिएको छ । रारा माध्यमिक विद्यालयको भवनहरू पहिलेदेखि नै भएपनि उचित मर्मत संभारको अभावमा बर्खायाममा पानी चुहिने समस्या थियो अध्यक्ष शाहले भने,'हामीले अहिले सबै मर्मत गरेर विद्यार्थीहरूलाई सहज बनाउने प्रयास गरेका छौं ।'
बैजनाथ गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्लले शौभाग्य शाह फाउण्डेशनले विद्यालयलाई गरेको सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा सहज हुने बताए । विद्यालय पुनःनिर्माण, खेलकुद सामाग्री वितरण तथा अभिभावक भेलाका प्रमुख अतिथिसमेत रहेका वडाअध्यक्ष मल्लले फाउण्डेशनले गरेको सहयोगलाई बिर्सन नसकिने भन्दै प्रसंसा गरे ।
विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्काले फाउण्डेशनले रारा माध्यमिक विद्यालयलाई लगाएको गुण सधैं सम्झिरहने बताए । उनले पढ्न लेख्नसमेत कठिन हुने गरेको विद्यालयको मुहार फेरिएको भन्दै खुसी व्यक्त गरे ।
उक्त कार्यक्रममा शौभाग्य शाह फाउण्डेशनका संरक्षक विनित शाहसहित पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिर्ख रोकाय, अभिभावक संघका अध्यक्ष लोकबहादुर रोकाय, शिक्षक, अभिभावक, स्थानीय समाजसेवी लगायतको उपस्थिति थियो ।
फाउण्डेशनले यस अघि पनि बाँकेको बैजनाथ-१ मै रहेको सुर्योदय माविमा पनि कम्प्युटर, ल्यापटप, बास्केटबल र भलिबल कोर्ट, खेलकुद सामाग्रीसहित करिव १५ लाख रुपैयाँ बराबरको सहयोग गरेको थियो । अध्यक्ष शाहका अनुसार फाउण्डेशनले विभिन्न जिल्लामा गरेर करिव एक दर्जन विद्यालयमा भौतिक पूर्वाधारसहित शैक्षिक र खेलकुद क्षेत्रमा सहयोग गरिसकेको छ ।
फाउण्डेशनले स्वर्गीय डा. शाहले यसअघि प्रकाशन गरेका विभिन्न पत्रिकाका लेखहरूलाई पुनः प्रकाशन गर्ने योजनासमेत बनाएको छ । स्वर्गीय डा. शाह प्रसिद्ध मानवशास्त्री हुन् ।