लिस्बन : पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति सौसासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पौडेलले राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने तथा आपसी हित एवं सहयोग अभिवृद्धिबारे छलफल भएको लिस्बनस्थित नेपाली दूतावासले जनाएको छ ।
सो अवसरमा पोर्चुगलका लागि नेपालको पहिलो राजदूतका रूपमा नियुक्त भएकोमा राजदूत पौडेललाई बधाई ज्ञापन गर्दै राष्ट्रपति सौसाले सफल कार्यकालको शुभकामनासमेत दिएका थिए । राजदूत पौडेलले राष्ट्रपति सौसालाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश सुनाउँदै पोर्चुगलका जनताप्रति नेपाल सरकारको सद्भावनाको शुभकामना व्यक्त गरेका थिए ।
भेटवार्ताका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन, व्यापार, पर्यटनका साथै नेपाली र पोर्चुगिज नागरिकको सहजताका लागि नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको राजदूत पौडेलले जानकारी दिए । राष्ट्रपति सौसाले नेपाली संस्कृतिप्रति विशेष चासो व्यक्त गर्दै नेपाली समुदायको विषयमा खुलेर कुरा गरेको उनले बताए । सौसाले नेपालीहरु मेहनती र मिलनसार रहेको भन्दै प्रशंसासमेत गरेको पौडेलले बताए । पौडेलले नेपाल-पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर र बलियो बनाउँदै आपसी हित र सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए ।
उक्त समारोहमा पोर्चुगलका विदेश सहायकमन्त्री नुनो साम्पाइओ, विदेश मामिला सचिवालयका महासचिव फ्रान्सिस्को रिबेरो तेलेस, विदेश मन्त्रालयका अधिकारीहरू, राजदूत पत्नी रुपा पौडेल, दूतावासका द्वितीय सचिव रामबाबु नेपाललगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ ।
सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिरमा उनलाई पोर्चुगलको राजदूतमा नियुक्त गरेका थिए । राजदूत पौडेल आफ्नो जिम्मेवारी सम्हाल्न गत फागुन २२ गते पोर्चुगल आएका थिए ।