२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

तीनकुने घटनाप्रति पत्रकार महासंघ सुर्खेतको आपत्ति

draupadi film
कुलेन्द्र शाही
२०८१ चैत १९ गते १८:३३
तीनकुने घटनाप्रति पत्रकार महासंघ सुर्खेतको आपत्ति

सुर्खेत : नेपाल पत्रकार महासंघ सुर्खेतले काठमाडौंको तीनकुनेमा प्रेसमाथिको आक्रमणपछि सिर्जित घटनाक्रमका विषयमा सरोकारवालासँग छलफल गरेको छ । मंगलबार सुर्खेतस्थित प्रेससँग सम्बद्ध संघ/संगठनहरूसँग महासंघले भावी कार्यदिशाका बारेमा छलफल गरेको हो ।

छलफलमा नेपाल पत्रकार महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष ललित बसेलले तीनकुने घटनामा पत्रकार र सञ्चार गृहमाथि भएको आक्रमणलाई सामान्य रूपमा लिन नहुने बताए । विगतदेखि नै प्रेस स्वतन्त्रतामा विभिन्न पक्षबाट आक्रमण हुँदै आएको उल्लेख गर्दै यसमा महासंघले डटेर सामना गर्नुपर्ने उनले बताए ।

प्रेस सेन्टर नेपाल सुर्खेतका अध्यक्ष टेकेन्द्र विश्वकर्माले विज्ञप्ति निकालेर मात्रै पत्रकारको सुरक्षा हुन नसक्ने बताए । सिंगो सञ्चार क्षेत्रमा चौतर्फी भइरहेको हमलाविरुद्ध पेसागत संगठनहरूले प्रतिवाद गर्नुपर्ने उनले बताए । कतिपय अवस्थामा आचार संहिता पालना नगर्दा पत्रकारमाथि आक्रमण हुने गरेको उल्लेख गर्दै उनले पत्रकार पनि मर्यादा रहनु पर्ने बताए । जोखिमको संवदेनशिलतामा ध्यान पुर्‍याउन सके असंगठित समूहको हमलाबाट बच्न सकिने उनको धारणा थियो ।

यस्तै, प्रेस चौतारी नेपाल सुर्खेतका अध्यक्ष मुना हमालले तीनकुने घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । आन्दोलनका नाममा हत्या जस्तो गम्भीर प्रकृतिको अपराधमा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने उनले बताइन् ।

आचारसंहिता पालनासँगै कार्यस्थलमा पत्रकार सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनले बताइन् । साथै, उनले पत्रकारको पेसागत सुरक्षा र क्षमता अभिवृद्धिमा महासंघले खुट्टा कमाउन नहुने बताइन् ।

नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन बिसीले तीनकुने घटनाका विरुद्ध सांकेतिक रूपमा सार्वजनिक कार्यक्रम बहिष्कार गर्नुपर्ने बताए । समाजवादी प्रेस संगठन सुर्खेतका अध्यक्ष देव रानाले मृतकले न्याय नपाउँदासम्म सरकारलाई रचनात्मक दबाब दिने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । खासगरी भिडभाडमा रिपोर्टिङ गर्दा उच्च जोखिम हुने उल्लेख गर्दै उनले पत्रकार बिमा कार्यक्रम ल्याउँदा परिवार सुरक्षामा केही हदसम्म सहयोग पुग्ने बताए । यस्तै, सञ्चारीका समूह कर्णाली प्रदेशका सचिव रजनी योगीले प्रेसमाथि भएको अकल्पनीय घटनाको डटेर सामना गर्नुपर्ने बताइन् ।

उनले समाचारकै कारण ज्यान गुमाएका दैलेखका पत्रकार डेकेन्द्रराज थापालाई न्याय दिलाउन लड्नु परेको लामो लडाइँ तीनकुने घटनामा दोहोरिन नहुने बताइन् । अनलाइन मिडिया नेटवर्क सुर्खेतका अध्यक्ष नवीन शाहीले सामाजिक सञ्जालले पत्रकार असुरक्षित बन्दै गएकाप्रति सचेत रहनुपर्ने बताए । कतिपय अवस्थामा पत्रकार आफै संवेदनशील नहुँदा अप्रिय घटना घट्ने गरेको उल्लेख गर्दै शाहीले रिपोर्टिङ गर्दा हुलमुलबाट जोगिनुपर्ने बताए ।

नेपाल आदिवासी पत्रकार महासंघका अध्यक्ष प्रवाशकुमार शाक्यले तीनकुने घटनाबाट पाठ सिक्दै सुरक्षित रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए । पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुशील खड्काले रिपोर्टिङ गर्दा पत्रकार संवेदनशील आवश्यक रहेको बताए । कार्यस्थलमा पत्रकारले सुरक्षा पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो । समाजलाई सुसूचित गर्ने र विचार निर्माण गर्ने स्वतन्त्र प्रेसमाथि हमला हुनु दु:खदायी भएको उनको भनाइ थियो ।

यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले प्रेसमाथि द्वन्द्वका समयमा भन्दा पनि अहिले असुरक्षा बढेको बताए । पत्रकारले ज्यान जोगाएर मात्रै रिपोर्टिङ गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारमाथि हुने सबै खाले घटनाविरुद्ध न्याय प्राप्तिको लडाइँमा महासंघपछि नहट्ने बताए । राजतन्त्र फर्काउने आन्दोलनका नाममा भएको अराजक प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई न्याय दिलाउन कुनै कसर बाँकी नराखिने महासंघ सुर्खेतका अध्यक्ष सुशील राज शर्माले बताए ।

रजकलाई न्याय र उनको परिवारलाई उचित क्षतिपूर्तिसहित स्वतन्त्र प्रेसमाथि भइरहेको हमला अन्त्य नभएसम्म महासंघले संघर्ष जारी राख्ने शर्माको दाबी छ । उनका अनुसार महासंघ केन्द्रको सर्कुलर अनुसार एक सातासम्म दबाबमूलक कार्यक्रम आयोजना गरिने छ । महासंघले दिएको समयसम्म माग पूरा नभए सरकारविरुद्धको संघर्ष सुरु हुने उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise