विराटनगर : विराटनगर–६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा जारी ‘इक्वालिटी कप क्रिकेट २०२५’ प्रतियोगिताको फाइनलमा मोरङ र सप्तरी भिड्ने भएका छन् । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा सम्पन्न चौथो संस्करणको प्रतियोगितामा लगातार दुई खेल जित्दै मोरङ र सप्तरीले उपाधि भिडन्त पक्का गरेका हुन् ।
साविक विजेता मोरङले इलामलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो । इलामले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि १७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६२ रन बनाउन सफल रह्यो । इलामका कुनै पनि ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्, तर अतिरिक्त रनकै भरमा टोलीले ४१ रन जोडेको थियो । मोरङका लागि सानु राजवंशीले २ विकेट लिँदा, चाँदनी साह, फुलकुमारी राजवंशी र बन्धना राजवंशीले समान २–२ विकेट लिए ।
सानो लक्ष्य पछ्याउन मैदान उत्रिएको मोरङले ५.५ ओभरमै १ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित पूर्णीमा राजवंशीले अविजित ३२ रन बनाइन् भने सानु राजवंशीले १० रन जोडे । पूर्णीमाले २७ बलमा ६ चौका प्रहार गरिन् । इलामका लागि रञ्जना लिम्बुले १ विकेट लिइन् ।
त्यसैगरी, प्रतियोगिताको दोस्रो खेलमा सप्तरीले सिरहालाई ८ रनले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । टस जितेर ब्याटिङ गरेको सप्तरीले २० ओभरमा ९ विकेट गुमाउँदै १०२ रन बनायो । टोलीका लागि प्लेयर अफ द म्याच घोषित साक्षी यादवले सर्वाधिक ५७ रनको योगदान दिइन्, जसमा ६ चौका समावेश थिए । सिरहाका लागि अनुराधा चौधरीले ४ विकेट तथा सरस्वती चौधरीले ३ विकेट लिए ।
१०३ रनको लक्ष्य पछ्याएको सिरहा २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रनमै रोकियो । टोलीका लागि सरस्वती मुखीयाले अविजित १३ रन तथा प्रसिद्का खडकाले ११ रनको योगदान दिइन् । सप्तरीका अपेक्षा यादवले ४ विकेट हात पारिन् भने साक्षी यादव र सुस्मीता यादवले समान २–२ विकेट लिए ।
महिलाको क्रिकेटमा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा इक्वालिटी कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो ।