सोमबार गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस गरेको छ । एआईजीको दरबन्दी थप गरेको केही दिनमै पोखरेललाई बढुवा गर्ने निर्णय प्रति आलोचना भइरहेको छ ।
दरबन्दी थप गर्ने बेला पनि सरकारको निर्णयमा विरोध भएको थियो । कुनै व्यक्ति विशेषलाई नेतृत्वमा ल्याउनेगरी दरबन्दी थप गरिएको भन्दै आलोचना भयो । त्यसै बेला पनि पोखरेल नै संभावित नाम भएको ठहर सहित आलोचना गरिएको थियो । तर, त्यो आलोचनाले सरकार आफ्नो निर्णयबाट पछि हटेन । यो विषय विशेषगरी उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग जोडेर आलोचना गरिएको छ ।
एआईजीमा बढुवा सिफारिस भएको पोखरेललाई यसअघि पनि मन्त्री पोखरेलकै दबावमा डीआईजीमा बढुवा गरिएको दावी गरिदै आएको छ । प्रहरी नेतृत्वमा पोखरेललाई ल्याउने मन्त्री पोखरेलले यसपटक पनि गृहमन्त्री रामबहादुर थापा बादललाई समेत छलेर सिफारिस गरिएको चर्चा चलेको छ । तर, यसबारे उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री बादलले मुख सार्वजनिक रुपमा खण्डन गरेका छैनन् ।
अहिलेको प्रहरी नेतृत्व समेत यो निर्णयबाट नाखुस रहेको जनाइन्छ । पहिलेबाटै प्रहरी नेतृत्व निश्चित गर्नेगरी दरबन्दी थप गर्ने र बढुवा गर्ने निर्णयले बाँकी नेतृत्वमा निराशा आउने निष्कर्ष सहित प्रहरी नेतृत्व खुशी नरहेका हुन् । प्रहरी नेतृत्वको यो तर्कमा दम छ । किनभने, प्रतिश्पर्धाबाटै फालिए पछि इमान्दारिता पूर्वक काम गर्ने जाँगर चल्दैन । जबकी, यो सरकारकै सफलताका लागि समेत प्रहरी नेतृत्व उत्कृष्ठ हुन जरुरी छ ।
सुशासनको कुरा प्रहरीको नियमित दायित्व नै हो । तर, अहिले दुई तिहाइ नजिकको जनमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले सुशासन कायम गर्न नसकेको आरोप लागिरहेकै छ । अनेक घटनाका दोषी कानूनको कठघरामा आउन सकेको छैन । यसैकारण नेकपा सरकार बद्नाम समेत हुने गरेको छ ।
यस्तो बेला देखिनेगरी सरकारले प्रहरी नेतृत्व तयार पार्नुले थप आलोचना हुने निश्चित नै हो । तसर्थ, सरकारले यस्तो निर्णयमा ध्यान पुर्याउनुपर्ने थियो । तर, उल्टो आफ्नो मान्छेलाई प्रहरी नेतृत्वमा ल्याउने कार्य निन्दनीय नै हो । अर्थात्, यसअघि जसरी प्रहरीमाथि
राजनीति हुने गरेको थियो । त्यसैले फेरि पनि निरन्तरता पाउनुले यो सरकारबाट जनताको भिन्न अपेक्षामाथि कुठाराघात हुने पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies