-केबी बस्नेत
हस्तकला नेपालको सबै जिल्लामा विद्यमान छ । प्रत्येक जिल्लामा विभिन्न जात जातिका व्यक्तिहरु बसोबास गर्ने हुनाले उनीहरुका आ–आफ्ना संस्कृतिअनुसार विभिन्न किसिमका हस्तकलाका सामानहरु पाइन्छन् । हाल नेपालबाट ४२ प्रकारका हस्तकलाका सामग्रीहरु विश्वका ६० भन्दा बढी देशमा निर्यात गरिन्छ, जसमध्ये पश्मिना, फेल्ट, धातुका सामान, काठका सामान, प्राकृतिक रेशाजन्य सामग्री र मिथिला पेण्टिङ उल्लेखनीय छन् ।
संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, भारत, जापान, बेलायत, फ्रान्स, डेनमार्क र क्यानडा नेपाली हस्तकलाका निर्यात हुने प्रमुख देशहरु हुन् । वर्तमान समयमा छिमेकी देश भारत र चीनमा यहाँका हस्तकलाका सामानहरुको माग बढेको छ । आज भोली देशभित्र पनि सजावटका लागि हस्तकलाका सामानहरु प्रयोग गर्ने प्रवृत्ति बढेको छ । यतिमात्र होइन, प्रत्येक वर्ष नेपाल आउने पर्यटकहरुमध्ये धेरैले यहाँको चिनोको रुपमा वस्तुकलाका सामानहरु खरिद गर्छन् ।
नेपाल आउने कतिपय विदेशी राष्ट्र प्रमुख तथा प्रसिद्ध व्यक्तिहरुलाई हस्तकलाका सामानहरु उपहारस्वरुप प्रदान गर्ने चलन छ । यहाँको हस्तकलालाई प्रश्रय दिने उद्देश्यले सरकारले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महंगो भएपनि स्वदेशी वस्तु प्रयोग गर्न जोड दिएको छ । तर यो व्यवहारमा भने लागू हुन सकेको छैन ।
यहाँ प्रत्येक धातु तथा कपडाबाट उत्पादित हस्तकलाका सामानहरुको माग झण्डै उस्तै नै छ । कपडाबाट बनेका सामानहरुमा खास गरेर पश्मिना, सुती, फलाटिन, रेशम, अल्लो र ढाकाबाट उत्पादित सामानहरुको बढी माग छ । ऊनबाट बनेका सामग्रीहरुको पनिनिकै माग छ । यसै गरी सिल्भर, काठ, विभिन्न किसिमका पत्थर, छाला, बेतबाँस, थान्कालगायत सरदर १६ प्रकारका हस्तकलाका सामानहरु विदेश निर्यात हुँदै आएको छ ।
एक आधिकारिक तथ्यांकअनुसार हस्तकला उद्योगमा संलग्न प्रत्यक्ष र अप्रत्यक्ष गरी २१ लाख जति व्यक्तिहरुले रोजगारी पाएका छन् । परन्तु यहाँ कामको सम्मान गर्ने प्रवृत्ति नभएकोले उक्त उद्योगमा हिनता बोध हुन थालेको छ । त्यसैले परम्परागत रुपमा काम गर्ने मजदूरहरुको संख्या कम हुँदै गएको छ । यस व्यवसायमा युवाहरुको आकर्षण बढ्न नसकेकोले श्रमको अभाव छ ।
पछिल्लो समय हस्तकलाका सामानहरु छिमेकी राष्ट्रहरु, युरोप र अमेरिकामा बढेपनि कामदारहरुको कमीले गर्दा माग पूर्ति गर्न सकिएको छैन । श्रमको कमीले गर्दा केही समययता भारत र बङ्गलादेशका कालिगडहरुले पनि सुन चाँदीको गहना एवम् विभिन्न हस्तकलाका सामानहरु बनाउँदै आएका छन् ।
नेपालमा उत्पादित हस्तकलाका सामानहरुमध्ये माटाका भाँडाहरुको पनि कम महत्व छैन । यहाँ उत्पादित माटाका भाँडाहरुमध्ये खास गरेर गमला, घ्याम्पो, घैँटो, हाँडी, खुत्रुके आदि छन्, जसमध्ये खुत्रुकेको विदेशमा निकै माग छ । विदेशबाट यहाँ केही माटाका भाँडाहरु आयात गरिए तापनि यहाँबाट प्रत्येक वर्ष झण्डै ३ करोड मूल्य बराबरको माटाका भाँडाहरु निर्यात गरिन्छन् ।
वस्तुतः यहाँ माटाका सामानहरु प्राचीन कालदेखि नै बनाउन थालिए पनि हाल माटो र विभिन्न किसिमका रङहरुको बढ्दो मूल्यको कारण उक्त सामानहरु बनाउने काममा बाधा पुगेको छ । वर्तमान समयमा यहाँ धातु तथा प्लाष्टिकका सामानहरुको बढ्दो प्रयोगले गर्दा नयाँ पुस्ताका व्यक्तिहरु यस व्यवसायमा आकृष्ट भएका छैनन् । यतिमात्र होइन कालिगडहरुलाई तालिम दिने संस्थाहरुको अभावमा, यहाँबाट उत्पादित माटाका भाँडाहरुको गुणस्तर अभिवृद्धि गर्न सकिएको छैन ।
हस्तकलाको प्रवर्द्धनका लागि समसामयिक तालिमको आवश्यकता छ । तर यहाँ उक्त कलासम्बन्धी तालिम दिने संस्थाहरु छैनन् । त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान जान आवश्यक छ । भारत र बङ्गलादेशमा हस्तकलाका सामानहरु बनाई निर्यात गर्ने संघसंस्थाहरुलाई प्रोत्साहन दिने विशेष व्यवस्था भएकाले ती देशहरुमा उक्त व्यवसायमा संलग्न व्यक्तिहरु उत्साहित छन् । किन्तु यहाँ हालसम्म पनि उक्त व्यवस्था गर्न नसकिएकाले सम्बन्धित व्यक्ति तथा संस्थाहरुको ध्यान आकृष्ट हुन जरुरी छ ।
हस्तकलामा युवाहरुको खासै चासो देखिदैन । त्यसैले विद्यालयहरुको पाठ्यक्रममा हस्तकलासम्बन्धी कुराहरु समावेश गर्न सके भविष्यमा यहाँका युवाहरु उक्त कलामा संलग्न हुन आकर्षित हुने छन् । आगामी दिनहरुमा हस्तकलाका सामानहरुको माग अभिवृद्धि गर्न यिनीहरुको डिजाइनमा पनि केही परिवर्तन गर्न जरुरी छ । यसकालागि अन्तर्राष्ट्रियस्तरका डिजाइनरहरु झिकाई यहाँका कालिगडहरुलाई समसामयिक तालिम दिन आवश्यक छ ।
यहाँको हस्तकलाको विकासको लागि मजदुरहरुको संख्या बढाउन नितान्त आवश्यक छ । यसको लागि इच्छुक व्यक्तिहरुलाई तालिम दिने व्यवस्था हुनुपर्छ । यसका साथै सम्बन्धित व्यक्ति तथा संस्थाहरुबाट बेला बेलामा हस्तकलासम्बन्धी प्रदर्शनीहरु आयोजना गर्ने, हस्तकला सम्बन्धी प्रतियोगिताहरु आयोजना गर्ने र ऋण सहज तथा सुलभ तरिकाले उपलब्ध गराउन जरुरी छ । एक आधिकारिक तथ्यांकअनुसार नेपालमा वार्षिक ३ सय ५० मेट्रिक टन भन्दा बढी अल्लोको बोक्राबाट धागो तथा अल्लोजन्य हस्तकलाका सामानहरु उत्पादन गरिन्छ । यी सामानहरुमध्ये ८० प्रतिशतभन्दा बढी निर्यात गरिन्छ । यसरी निर्यात गरिने देशहरुमा खास गरेर संयुक्त राज्य अमेरिका, क्यानडा, इटाली, स्विजरल्याण्ड, नेदरल्याण्ड, नर्वे, डेनमार्क, फिनल्याण्ड र दक्षिण कोरिया प्रमुख छन् ।
नेपाल हस्तकला महासंघको हस्तकला निर्यात तथ्यांकअनुसार आर्थिक वर्ष २०६४/०६५ मा ४८,४१,१५३ मूल्य बराबरको अल्लोजन्य हस्तकलाका सामानहरु निर्यात गरिएको थियो भने आर्थिक वर्ष २०६५/६६ मा ४७,३९,६६८ मूल्य बराबरको अल्लोजन्य हस्तकलाका सामानहरु निर्यात गरिएको थियो । हालका वर्षहरुमा उक्त रकमभन्दा केही बढी मूल्यका हस्तकलाका सामानहरु निर्यात गरिन्छ । नेपालमा १२०० देखि ३००० मिटरसम्मको उचाइमा अल्लो पाइन्छ । यो यहाँको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ३५ हिमालीतथा पहाडी जिल्लाहरुमा पाइन्छ ।
वास्तवमा अल्लोका रेशा तथा रेशाजन्य वस्तुलाई प्रशोधन गरेर अल्लोसम्बन्धी हस्तकलाका सामानहरु बनाइन्छ । हाल नेपालमा अल्लोजन्य हस्तकलाका सामानहरुको उत्पादनमा विभिन्न संघसंस्थाहरु आबद्ध छन् जसमध्ये हिमालयन नेचुरल फाइबर फाउण्डेशन, निनामरिदम ह्याण्डी फ्राफर र नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान संघ अग्र पंक्तिमा छन् ।
नेचुरल फाइबर फाउण्डेशनले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र संखुवासभाको सिलिचोङ, गाउँपालिकालाई आधार क्षेत्र मानेर ती क्षेत्रका गरीब किसानहरुलाई अल्लोको बेर्ना उतपादन, खेती गर्ने तरिका, प्रशोधन गर्ने तरिकालगायत विभिन्न तालिमहरु प्रदान गरी अल्लो तथा यसबाट बनाउने हस्तकलाका सामानहरुको उत्पादनमा सक्रिय सहयोग गरेको छ । उक्त फाउण्डेशनले रुकुम र रोल्पामा पनि साना तथा घरेलु उद्योग विभाग जर्मनको जीटीजेड संस्थाको सहकार्यमा अल्लो उद्योग प्रवर्द्धनका लागि तालिम सञ्चालन गरेको थियो ।
नेडेप नेपालले पर्वत, बाग्लुङ र म्याग्दी जिल्लामा इच्छुक व्यक्तिहरुका लागि अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण र उद्यमशीलता विकाससम्बन्धी तालिम प्रदान गरी अल्लोसम्बन्धी हस्तकलाको प्रवद्र्धनमा मद्दत गर्दै आएको छ । केही वर्ष यता होमनेट नेपालले अल्लोका हस्तकलाका सामान बनाउने र बेच्ने कामगर्दै आएको छ । अल्लोका हस्तकलाका सामानहरु बनाई बिक्री गर्ने अन्य संस्थाहरुमा महागुठी, साना हस्तकला संघ र हस्तकला उत्पादक संघको नाम उल्लेखनीय छन् । त्यी संस्थाहरुले अल्लोसम्बन्धी हस्तकला उद्योगहरुको संवद्र्धन तथा प्रवर्द्धनमा टेवा पुर्याएका छन् ।
नेपाल एक कृषिप्रधान देश भएपनि बढ्दो भूमि खण्डीकरण सिँचाइको अपर्याप्तता, खेतीको समयमा बीज बिजन तथा मलको अपर्याप्तता, पुरानो खेतीपाती गर्ने तरिका आदि कारणहरुले गर्दा कृषि क्षेत्रबाट प्राप्त हुने प्रतिफलबाट मात्र यहाँको आर्थिक समृद्धिको लक्ष्यमा पुग्ने सम्भावना देखिदैन । त्यसैले वैकल्पिक व्यवस्थापनको लागि औद्योगिक विकास गर्न आवश्यक छ, जसको लागि हस्तकला उद्योगले महत्वपूर्ण योगदान पु¥याउन सक्छ । हस्तकला उद्योगको प्रवद्र्धनका लागि अल्लोबाट तयार गरिने कपडा, झोला, जुत्ता आदि सामानहरुको उत्पादन वृद्धि गर्न आवश्यक छ ।
आजकल यस्ता सामानहरुको माग दिन प्रतिदिन बढे पनि अझसम्म पनि धेरैलाई यससम्बन्धी ज्ञान छैन । त्यसैले बेलाबेलामा देशका विभिन्न स्थानहरुमा हस्तकलासम्बन्धी भेलाहरु आयोजना गरी अल्लोका सामानहरु प्रदर्शन गरेमा भविष्यमा यसको व्यापार बढ्ने छ र हस्तकला उद्योगको विकासमा केही टेवा पुग्नेछ । फलतः यहाँको अर्थतन्त्रमा समेत सकारात्मक असर पर्नेछ ।
हस्तकलाको माग निकै बढेकाले लोक्ता उत्पादन गर्न इच्छुक व्यक्तिहरुलाई सरकारले लोक्ता उत्पादन पयिोजनाअन्तर्गत लिजमा जग्गा उपलब्ध गराई प्रोत्साहन गर्न आवश्यक छ । योबाहेक हस्तकलासम्बन्धी उद्योगहरुलाई प्रवद्र्धन गर्न हस्तकलाका सामानहरुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाी बनाउन निकासी गर्दा लाग्ने ढुवानी भाडामा सहुलियत प्रदान गर्न जरुरी छ ।
विगतमा निकासीयोग्य भनी तोकिएका हस्तकलाका सामानहरुको गुणस्तर प्रवद्र्धन गर्न इच्छुक व्यवसायीहरुलाई प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्न वाञ्छनीय देखिन्छ ।
उक्त समानहरुको सूची तयार गरी वेब साइटमा राखेमा निर्यात प्रवद्र्धनमा केही योग्दानपुग्न सक्छ । बढ्दो व्यापार घाटाले यहाँ अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । हस्तकलासम्बन्धी उद्योगहरुको प्रवद्र्धन गर्न सके उक्त घाटा न्यून गर्न केही योगदान पुग्न सक्छ । तसर्थ आगामी दिनहरुमा एकतर्फ यहाँका हस्तकलाका सामानहरुको गणस्तर बढाउन आवश्यक छ भने अर्कोतर्फ उक्त उद्योगहरुको संरक्षण गर्न पनि जरुरी छ ।
यहाँ वि.स. २०८५ सालसम्म गरिबीको रेखामुनिको ५ प्रतिशत र वि.स. २१०० मा शून्यमा झार्ने लक्ष्य छ । जसका परिपूर्तिका लागि हस्तकला उद्योगहरुको विकासले केही योगदान पुग्न सक्छ । अर्थतन्त्रका महत्वपूर्ण परिसूचक विवरण र तथ्यांकहरु समावेश गरिएको आर्थिक सर्वेक्षर्ण २०७५/०७६ अनुसार आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् २०३० सम्ममा मध्यम आय भएको देशमा रुपान्तर हुँदै समुन्नत तथा समृद्ध समाजवादउन्मुख अर्थातन्त्रको आधारशीला निर्माण गर्ने लक्ष्य छ । जसको लागि हस्तकला उद्योगहरुको भूमिका महत्वपूर्ण हुन सक्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies