तनहुँमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परे । केही घण्टा नियन्त्रणमा लिएपछि बरिष्ठ नेता पौडेल रिहा भएका छन् । तर, यसैलाई लिएर काँग्रेसले विरोध प्रदर्शन शुरु गरेको छ । काँग्रेसका नेता तथा कार्यकर्ताले तनहुँमा मात्रै नभएर काठमाडौं राजधानीमा पनि बुधवार साँझ प्रदर्शन गरेको छ ।
सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेरै आपत्ति जनाएका छन् । सरकारले भने पौडेलकै सुरक्षाका लागि पक्राउ गरिएको प्रष्टोक्ति दिएको छ । सरकारको यस्तो जवाफमा काँग्रेसले चित्त बुझाएका छैनन् । बुधवार साँझ नै काँग्रेसले बक्तव्य जारी गरेर आपत्ति जनाएको छ ।
उता, तनहुँमा रिहा भएलगत्तै नेता पौडेलले देशभर प्रदर्शन गर्ने चेतावनी दिएका छन् । उनले सरकारलाई फासिवादको आरोप लगाएको छ । यसले काँग्रेस र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच द्वन्द्व बढ्ने संभावना देखिन्छ । किनभने प्रतिपक्षीले सरकार विरोधी प्रदर्शन गर्दा त्यसको प्रतिकारमा सत्तारुढ नत्रिएला भन्न सकिन्न ।
तनहुँमै पनि झडप भइसकेको छ । तनहुँमा झडप हुनु र नेता पौडेल पक्राउ पर्नुको कारण भने विकासमा जस लिन भएको दुई पक्षको होड प्रमुख देखिन्छ । राजनीतिक गतिविधि खुला नभइकनै पौडेलले मंगलबार तनहुँमा निर्मित पुलको उद्घाटन गरेका थिए भने बुधवार अर्को पुल उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।
सत्तारुढ नेकपाका कार्यकर्ताले भने नेता पौडेलबाट उक्त पुल उद्घाटन गराउन चाहँदैनथे । त्यसैले मंगलबार नै झडपको संकेत देखिएको थियो । स्थानीय प्रशासनले त्यसैअनुसार, निषेधाज्ञा जारी गरेको थियो । तर, पौडेल निषेधाज्ञाबाट पछि हटेनन् । दलबल सहित उद्घाटन कार्यक्रममा निस्किए । स्थानीय प्रशासनले त्यसैबेला पौडेल सहित जिल्ला तहका नेताहरुलाई पक्राउ गरेको थियो ।
प्रतिपक्षी दलका शीर्ष नेतालाई पक्राउ गर्नु सरकारको अविवेकी निर्णय थियो । सँगै, नेता पौडेलले पनि स्थानीय प्रशासनले संभावित घटनाको अनुमान सहित गरेको निषेधाज्ञा उल्लङ्घन गर्नु उचित थिएन । संविधानको सर्वोच्चता र विधिको शासनलाई बलियो बनाउनु काँग्रेसको पनि उत्तिकै दायित्व हो ।
त्यसमाथि पौडेल जतिको नेताले त्यसलाई बर्खिलाप गर्नु उचित थिएन । तर, सत्तारुढको दबावमा स्थानीय प्रशासन प्रभावित हुनु र पौडेल पनि कुनै हालतमा पछि नहट्नुमा भने विकासको जस लिने होड हो । जुन विकासकै लागि पनि घातक विषय हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies