२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

किन बढ्दै छ काठमाडौँमा वायु प्रदूषण ?

himalayanlife
२०८१ चैत २२ गते ०८:०१
Shares
किन बढ्दै छ काठमाडौँमा वायु प्रदूषण ?

काठमाडौँ : वायु प्रदूषणका कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्यांक हेर्दा बिहीबार मध्याह्नसम्ममा पनि पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भई वायु प्रदूषण ३४८ एक्युआईसम्म पुगेको थियो।

प्रदूषण बढेसँगै विभिन्न सरकारी निकायदेखि वातावरण विज्ञ तथा चिकित्सकले विशेष चासो दिँदै सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्। प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सरोकारवालासँग भेट गरी प्रदूषण कसरी रोक्ने र असर कम गर्ने भन्ने विषयमा छलफल गरेका थिए।

बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो। सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०-५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्छ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले वायु प्रदूषणका कारण दम, फोक्सोका रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदयरोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहहरू( बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिए। 

विपद् व्यवस्थापन तथा जलवायुविद् डा धर्मराज उप्रेतीले पश्चिमी वायु कमजोर हुँदा वर्षा हुन पनि नसकेको र हावासमेत चल्न नसक्दा प्रदूषण जहाँको त्यहीँ थुप्रिएर पनि वायु प्रदूषण बढिरहेको बताए। ‘यो समयमा तापक्रम बढ्दै गएको छ, कृषिवस्तु बाल्ने, वन डढेलो, पानी नपर्दा सडकको धुवाँधुलो वातावरणमा गएर मिस्सिनु, पश्चिमी वायु कमजोर हुँदा पानी पर्न सकेन। पानी परेको भए वायुमण्डलमा थुप्रिएको प्रदूषणमा जमिनमा खस्थ्यो र प्रदूषण हट्थ्यो’, उनले भने, ‘तसर्थ जलवायु परिवर्तनले पारेको असरका कारण पनि मौसमी अवस्थामा परिवर्तन आउने, वर्षा हुन नसक्दा सुक्खा बढ्ने तथा आगलागी बढ्ने, वायुमा रहेको प्रदूषण हट्न नसकी प्रदूषण बढाउँछ।’

ताजा खबर

सम्बन्धित खबर