२०८१ चैत २७ गते बुधवार / Apr 09 , 2025 , Wednesday
२०८१ चैत २७ गते बुधवार
Ads

(अ)परिपक्व कूटनीति 

draupadi film
मध्यान्ह
२०८१ चैत २५ गते ०८:०५
(अ)परिपक्व कूटनीति 

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बैंककमा भएको गोप्य भेटवार्तालाई सत्तारूढ नेताहरूले महत्त्वका साथ प्रचार गरिरहेका छन् ।

बिमस्टेकको छैटौं शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओली र मोदीबीच एक होटलमा गोप्य भेटवार्ता भएको थियो । त्यो ‘वान टु वान’ भेटवार्तालाई नेकपा एमालेका नेताहरूले उपलब्धिका रूपमा प्रचार गरिरहेका छन् ।

एमाले महासचिव शंकर पोखरेलले त प्रधानमन्त्री ओलीको स्वभावसँग तुलना गरेर यो भेटबारे निष्कर्ष सार्वजनिक गरेका थिए । उनका अनुसार ओलीले दृढ र अविचलित रहेरै पनि सम्बन्ध सुधार गरेका छन् ।

एमाले पंक्तिमै अहिले त्यो भेटवार्ता उपलब्धिपूर्ण रहेको पुष्टि गर्ने प्रयत्न भइरहेको छ । ओली र भारतीय संस्थापनको विगत हेर्दा त्यो भेटवार्ता चासोपूर्ण पनि छ । 

तर, जसरी प्रचार भइरहेको छ, त्यसको पुष्टिचाहिँ हुन बाँकी छ । पहिलो पुुष्टि प्रधानमन्त्री ओलीको भारत भ्रमणमा देखिने छ । प्रधानमन्त्री बनेको १ वर्ष नजिक पुग्दै गर्दा पनि ओलीलाई भारतले भ्रमणको निम्तो दिएको छैन । भारतीय प्रधानमन्त्री मोदी पनि नेपाल आएका छैनन् ।

सगरमाथा संवादमै पनि मोदी नेपाल नआउने निश्चित भएको छ । बैंककबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगै प्रधानमन्त्री ओलीले सगरमाथा संवादमा मोदी नआउने जानकारी दिएका हुन् । भ्रमणबाहेक वर्षौंदेखि थाँती रहेका कामहरू अगाडि बढे भने त्यो गोप्य भेटवार्ता सफल रहेको ठानिने छ । तर, परिणाम देखिएन भने दाबीले मात्र ओली र मोदीको भेटवार्ता प्रचार गरिएको तहमा उपलब्धिपूर्ण भएको मान्न सकिँदैन ।

यसको अर्थ त्यो भेटवार्ताको सकारात्मक पक्षको विश्लेषणमा कञ्जुस्याइँ गरिनु हुन्न । कूटनीतिमा कार्यकारी प्रमुखहरूबीच हुने भेटवार्ताको आफैंमा महत्त्व हुन्छ । अझ भारत र चीनसँग नेपालको सम्बन्ध विशेष छ । भारतसँग अझ विशेष छ किनकि भारतसँग नेपालको सम्बन्ध सीमा मात्र नभएर संस्कृतिसँग पनि जोडिएको छ ।

त्यसैले, भारतसँगको कूटनीतिक छिमेक सम्बन्धलाई लोकप्रियताको राजनीति बनाइनु हुन्न । कूटनीतिलाई ब्यापार अथवा सस्तो लोकप्रियताको विषय बनाइँदा ती देशहरूले खोप्नुपरेको संकट छिपेको छैन ।

यसको अर्थ देशहितको कुरा नगर्ने भन्ने होइन, तर सँगै राजनीतीकरणको अस्त्र पनि बनाइनु हुन्न । कूटनीतिक संवेदनशीलतालाई ख्याल गरेर भेटवार्ता र संवादहरूलाई अगाडि बढाइनुपर्छ ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise