काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध र त्यसको दायित्वहरु निर्वाह गर्न लागेको बताएका छन् ।
सोमवार काठमाडौंमा आयोजित हिमालयन सम्बादमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बंगालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गरेको बताए । उनले समुन्द्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट बचाएर विश्वलाई जोगाउन नेपालको हिमालयन क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बिना एकता उपलब्धि हासिल हुन नसक्ने भएकाले विविधताका बीचमा एकता हुनुपर्ने बताए ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्या आउँदा नेपालीहरु एकजुट हुने गरेको बताए । उनले नेपाल शान्तिको पक्षमा भएकाले कसैको सामरिक गठबन्धनमा नलाग्ने प्रष्ट पारे ।
उनले भने, ‘हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र संस्कृतिक रुपमा विविधतायुक्त छ । हावापानीको विविधता छ यहाँ । विविधताका बीचमा एकता आवश्यक छ । बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन् । विविधता अभिशाप होइन, सम्पती हुनुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ । अन्तर्राष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु भन्ने होइन । कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नु हुँदैन । हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ । हामी शान्तिका पक्षमा छौँ । यसले मरुभूमिकरणबाट पनि बचाउने भएकाले हाम्रो अन्तर्राष्ट्रिय उत्तरदायित्व रहेको छ ।’
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय जवाफदेहितासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु नहुने बताए ।