पूर्ण सार्की/मध्यान्ह
डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले जिल्लामै पहिलो पटक डिजिटल नागरिक वडापत्र सुरु गरेको छ । नागरिकलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले पहिलो पटक डिजिटल नागरिक वडापत्र राखेर प्रविधिको सुरुवात गरेको हो । सोमबार जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले डिजिटल नागरिक वडापत्रको एक कार्यक्रमकाबीच उद्घाटन गरेका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर थापाले जानकारी दिए ।
थापाका अनुसार पालिकामा नागरिकले कुन सेवा कसरी, कुन फाँट र कति नम्बर कोठाबाट लिन पाइन्छ भन्ने प्रष्ट रुपमा खुलाएर राखिएकोले पनि नागरिकमैत्री रहेको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवनको मूल ढोका छेउमा डिजिटल वडापत्र राखेर नागरिकलाइ सूचित गरिएको छ ।
डोल्पाका ८ वटा स्थानीय तह मध्ये डिजिटल नागरिक वडापत्र राख्ने त्रिपुरा सुन्दरी नगरपालिका पहिलो स्थानीय तह हो । डिजिटल नागरिक वडापत्रमा नगरपालिकाले दिने हरेक सेवाहरुका बारेमा बुझिनेगरी सरल तरिकाले देखाइएको नगरप्रमुख जनचन्द्र रोकायाले बताए ।
समयसँगै विकास भइ रहेको र नागरिकले चाहेको डिजिटल प्रविधिको सहि रुपमा सदुपयोग नगरपालिकाले गरेको भन्दै जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले खुसी प्रकट गरे । समयानुकुल प्रविधिमैत्री हुन स्थानीय तहको एक सकारात्मक र अब्बल पाटो भएकोले नागरिकलाई प्रष्ट रुपमा सूचना दिनु नै प्रमुख उपलब्धी रहेको प्रमुख रोकायाको बुझाइ छ ।
त्रिपुरासुन्दरी नगरपालिकामा डिजिटल नागरिक वडापत्र लगायतका नगरपालिकालाई प्रविधिमैत्री नगरपालिका बनाउने कार्यक्रम अनुसार नगरपालिकामा इन्टरकम टेलिफोन सेवा, इ–हाजिरी,डिजिटल बोर्डसहित प्रविधिमैत्री बनाइएको छ ।