२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

आज कामदा एकादशी

draupadi film
मध्यान्ह
२०८१ चैत २६ गते ०७:४४
आज कामदा एकादशी

काठमाडौँ : चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदै छ । कामदा एकादशीको व्रत गर्नाले मनुष्यको मनोकामना पूरा हुने विभिन्न पुराण एवं धर्मग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका कार्यसमिति सदस्य पण्डित बालमुकुन्द देवकोटाले जानकारी दिए । 

“वशिष्ठ ऋषिले राजा दिलीपलाई कामदा एकादशीको माहात्म्य सर्वप्रथम सुनाउनुभएको थियो । यो विषय भगवान् श्रीकृष्णले युधिष्ठिरलाई पनि सुनाउनुभएको प्रसङ्ग विभिन्न पुराणमा उल्लेख गरिएको छ”, उनले भने । उनका अनुसार कामदा एकादशी पाप रुपी दाउराको भारीलाई डढाउने डढेलोको स्वरूप भएको वर्णन ती ग्रन्थमा गरिएको छ । 

रत्नपुर नाम गरेको नगरमा पति ललित गन्धर्व र पत्नी ललिता अप्सरा एक अर्कालाई प्रेम गरेर बसेका थिए । गन्धर्वको समूहमा गाना बजाना गर्ने क्रममा पति ललित पत्नी ललितालाई सम्झेर ताल, लय बिग्रियो । ललितले गीतको लय बिगारेको कुरा कर्कोटकले पुण्डरीकलाई बताएपछि श्राप दिए । फलस्वरूप ललित राक्षस भएर जंगलमा रहन थाले । पत्नी ललिताले थाहा पाएर चैत्र शुक्ल एकादशीमा कामदा एकादशीको विधिपूर्वक व्रत एवं पूजा, आराधना गरी पतिलाई पुरानै अवस्थामा फर्काउन सफल भएको विषय ती ग्रन्थमा उल्लेख गरिएको पण्डित देवकोटाले जानकारी दिए ।

मनुष्यले आफ्नो र अर्काको कल्याणका लागि पनि कामदा एकादशीको व्रत गर्नुपर्ने एकादशी माहात्म्यलगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस व्रतको प्रभावले मनुष्यको ब्रह्महत्या आदि पाप, पिशाचत्व र राक्षसत्व नाश भई त्रिलोकमा इच्छा सिद्धि प्राप्त हुने पनि ग्रन्थमा उल्लेख गरिएको उनले बताए ।

यो कामदा एकादशीको व्रतको माहात्म्य पढ्नाले वा सुन्नाले मात्रै पनि वाजपेय यज्ञ गरेको पुण्यफल प्राप्त हुने ग्रन्थमा वर्णन गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise