कालीकोट : सम्झौताको १ वर्ष अगावै लालु लैफुदेखि रास्कोटसम्मको सडक सम्पन्न भएको छ । उक्त सडकको युवा निर्माण व्यवसायी मानव बमसँग सम्झौता भएको थियो । लैफुदेखि रास्कोटसम्म सडक संचालनमा आइसकेको र कोटिलादेखि रास्कोटसम्म अबको ३ देखि ४ महिनाभित्र कार्यसम्पन्न हुने कालिकोट भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख हरि धितालले जानकारी दिए ।
निर्माण व्यवसायीको लापरबाहीका कारण विकास योजना ढिलासुस्ती, गुणस्तरहीन हुने गुनासो सुनिने गरिन्छ । तर कालीकोटको रास्कोट नगरपालिकामा ५ का युवा निर्माण व्यवसायी बमले कामको गुणस्तर प्रभावसँगै समयसीमा अगावै काम सम्पन्न गरेका छन् ।
जिल्लाको नरहरिनाथ गाउँपालिकाबाट रामारोशन पर्यकीय क्षेत्र अछामको रामारोशन जोड्ने पर्यटकीय सडक लालु लैफु, कोटवाडा रूप्सा हुँदै सुदुरपश्चिम प्रदेशको रामारोशन जोड्ने निर्माणाधिन पर्यटकीय सडकको काम निर्माण व्यवसायी बमले प्राथमिकताका साथ निमार्ण कार्यलाई तीव्रता दिएका छन् ।
कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघका सचिव समेत रहेका बमले आफुले लिएको निर्माणको काम समयभन्दा अगाडिनै सक्ने गरेको दाबी गरे । लक्ष्य पूरा गर्न सडक निर्माणको काममा रातदिन लागि परेको र कामको कार्यसम्पन्न गर्ने मिति २०८०/१०/२४ सम्झौता २०८३/४/२४ सम्म रहेपनि १ वर्ष अगावै काम सकेको र अब अन्तिम चरणमा रहेको कालीकोट भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख धितालले बताए ।
कर्णाली प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कार्यकालमा चार वर्षअघि रामारोशनलाई जोड्न आन्तरिक र बाह्य पर्यटकलाई रामारोशन, बडिमालिका त्रिवेणी र रारासम्म आवतजावत गर्न सजिलो होस् भन्ने उद्देश्यले त्यस क्षेत्रमा ठूलो बजेट विनियोजन गरेका थिए ।
पर्यटक भित्र्याउने लक्ष्यका साथ कामको थालनी गरेको पर्यटकीय मार्ग रामारोशन खुलालु मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यो सडकले कालीकोटको कर्णालीपारिका पचाँल झरना, रास्कोट, सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकाको सबै भू–भाग सडक संजालमा जोडिने छ । बजेट थोरै विनियोजन हुने, वर्षमा काम नहुने भएका कारण विगतमा कछुवा गतिमा निर्माण भइरहेको सडकको काम पछिल्ला केही वर्ष तीव्र गतिमा हुने गरेको छ ।
कालीकोटकै महेन्द्रबहादुर शाही मुख्यमन्त्री भएपछि कर्णालीको पर्यटन क्षेत्र सुधारका लागि भन्दै बडीमालिका त्रिवेणी, देउरा पाटन, पिलियुद्व पर्यटन, पचाल झरना र रारासम्म पुग्न दर्जनौं क्षेत्रमा ठूलो बजेट छुट्याएका थिए ।
सोही शिलशिलामा लालुलैफु सडकको ट्रयाक खोल्ने र स्तरोन्नतिको लागि बजेट विनियोजन गरेका थिए । सडकको ट्रयाक खुलेसँगै स्तरोन्नति र ग्रावेलको काम पनि सँगसँगै हुने गरेको छ । कालीकोट भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख धितालले कालीकोटको पर्यटन तथा कृषि र जैविक विविधतासँग जोडिएको ग्रामीण सडकमार्गको निर्माणका लागि सडकलाई लक्षित गरेर कालीकोट र अछामलाई जोड्ने ग्रामीण सडकलाई प्राथमिकताका साथ बजेट विनियोजन हुनु र काम पनि समयमै चाडो हुनुले केही वर्षमै अब लालुलैफुसडक संचालनमा आउने बताए । खड्का कृष्ण न्यौपाने जेभी निर्माण सेवाले हाल पनि काम गरिरहेको र त्यो काम अन्तिम चरणमा रहेको सडकमा २०८०/०८१ मा पनि ठूलो बजेटको काम भइरहेको छ ।
लालु लैफु सडक तीव्र निर्माण भइ कार्य सम्पन्न भएमा प्रमुख पर्यटन गन्तव्य रारा, बडीमालिका र रामारोशनलाई जोड्न सकिने र पर्यटकको संख्यामा वृद्धि हुने सुर्खेतमा होटल व्यवसायी लक्ष्मी प्रसाद भट्टराईले बताए । कार्य सम्पन्नको जिम्मा पाएका निर्माण व्यवसायी बमले यसअघि रास्कोट नगरपालिकाको मिनि मार्केट निर्माण र सडक कालोपत्रे गर्ने काम पनि समय सीमा भन्दा अगावै सकेर चर्चा कमाएको अर्का निर्माण व्यवसायी अलि शाहीले बताए । कर्णालीमा पर्यटकका लागि आवत–जावत गर्ने सडक नै गतिलो नभएको घुम्न आउने प्रायः सबैजसो पर्यटकको गुनासो हुने गरेको छ । लालुलैफु सडक संचालनमा आए बहुचर्चित कोडवाडा विमानस्थलसँग जोडिनेछ ।