रौतहट : रौतहट गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मित्र ढकाल कार्यालयमा नहुँदा सेवा प्रभावित हुने गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा यस क्षेत्रका सेवाग्राहीले समस्या भोग्नु परेको छ । गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल एक दिन कार्यालयमा, दुई दिन भ्रमणमा, दुई दिन घरमा बस्ने गरेका छन् ।
चालु आर्थिक वर्ष सकिन साढे तीन महिना मात्रै बाँकी छ । केही योजना सम्झौता हुँन बाँकी छन् । सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा नगरका सेवाग्राहीले समस्या झेल्नु परेको एक जनप्रतिनिधिले दुखेसो पोखे ।
अधिकृत ढकाल कार्यालय अनुपस्थितको कारण सेवाग्राही मर्कामा परेका छन् । दुई सातादेखि कुनै पनि काम हुन नसक्दा सेवाग्राही रितै फर्किन बाध्य छन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत ढकालले कमिसन नलिइ कामै नगर्ने गरेको आरोप समेत लाग्ने गरेको छ । कमिसन दिनेलाई मात्र भुक्तानी दिने गरेको र कमिसन नदिनेलाई विभिन्न बहाना बनाएर अलटाल गर्ने गरेको स्रोतले जनाएको छ ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत ढकालले नियमविपरीत आफ्नो भ्रमण खर्च निकासा गरेको समेत पाइएको छ ।
जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको भ्रमण आदेश नगरपालिकाको नगर प्रमुखले स्वीकृत गर्ने कानुनी व्यवस्था छ । तर, अधिकृत ढकालले आफूखुसी आफ्नो भ्रमण आदेश आफैं स्वीकृत गरी लाखौं रकम निकासा गरेको एक जना जनप्रतिनिधिले बताए । यस विषयमा अधिकृत ढकालसँग सम्पर्क गर्न खोजेपनि सम्पर्क हुन सकेन ।