गोरखा : नेपाली सेनाले बिहीबार गोरखा दरबारदेखि जितगढीसम्मको पदयात्रा सुरु गरेको छ । ८ दिने ऐतिहासिक पदमार्गको यात्रामा निस्केको नेपाली सेनाको टोलीलाई बिहीबार गोरखा दरबारमा औपचारिक कार्यक्रम गरी बिदाइ गरिएको छ ।
नेपाली सेनाले सो रुटमा गरेको पदयात्राको यो तेस्रो संस्करण हो । ऐतिहासिक पदमार्गमा पदयात्रा गर्ने सेनाका ४८ जनालाई पश्चिम पृतना पोखराका पृतनापति उपरथि मधुकर सिंह कार्की, श्री नं. ३ बाहिनीपति सहायकरथि नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले बिदाइ गरेका थिए । उनीहरूले नेपाली सेनाका स्थापना कालका ५ कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी बिदाइ गरेका हुन् ।
त्यस अवसरमा गोरखनाथ तथा गोरखकालीका पुजारी, गुरुकुलका पुरोहितहरूले मन्त्र वाचन गरेका थिए । महिला समूहको पञ्चेबाजा, नेपाली सेनाको ब्याण्ड बाजा समूहले बाजागाजासहित बिदाइ गरेका थिए । नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा गोरखा–तनहुँ–पाल्पा हुँदै जितगढीसम्मको ८ दिने पदयात्रा गर्न लागेको हो ।
२०७९ सालदेखि सुरु गरिएको यो पदयात्रा अहिले तेस्रो पटक भएको हो । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने, इतिहास जोगाउने क्रममा पदयात्रा गर्न लागेको रिपुमर्दन गणका गणपति अशोक क्षेत्रीले बताए । यात्रामा सहभागी सो गणका ४८ जना नेपाली सेनाको टोलीले गोरखादेखि जितगढीसम्मको २०७ किलोमिटर दूरी ८ दिनमा पूरा गर्नेछन् ।
गोरखा दरबारबाट बुधबार सुरु भएको यात्रा पालुङ्टार सतिघाटबाट तनहुँलाई हस्तान्तरण गर्नेछ । तनहुँमा २९, ३० र ३१ चैतमा यात्रा रहनेछ । यस्तै २, ३, ४ र ६ वैशाखमा टोली पाल्पा पुग्नेछ । ६ वैशाखमा जितगढी पुगेपछि यात्रा समापन गर्ने कार्यक्रम सेनाले तय गरेको छ ।
यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा स्थापना गरेका ५ पल्टनका सेना सहभागी छन् ।
यसअघि पनि सेनाले पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारसम्म यात्रा गरेको थियो । नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने कार्यक्रम, गतिविधि पनि गोरखासँग जोडिएको रिपुमर्दन गणले जनाएको छ ।