अर्घाखाँची : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाधिवेशन आगामी वर्ष सम्पन्न गर्ने बताएका छन् । पार्टीको चुनाव र मिसन चौरासी भन्नेकुरा अहिले सम्झेर वर्तमान अवसरलाई खेर नफाल्न नेता कार्यकर्तालाई शर्माले आग्रह गरे । पार्टीको काम छाडेर अहिलेबाटै चुनावको मात्र चर्चा गर्नु उपयुक्त नभएको शर्माको भनाइ छ ।
नेपाली कांग्रेस अर्घाखाँचीले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले वर्तमानमा नेपाली कांग्रेसले प्राप्त गरेको उपलब्धिको अधिकतम उपयोग गरेर जनहितकारी काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने ‘धेरैले ०८४ सालको चर्चा गर्छन्, हामीले गर्ने गरेका छौं । तर अहिले क्रियाशील जनप्रतिनिधिहरुले ०८४ किन पर्खनुपर्ने, अहिल्यै जनतासामु देखिने काम गर्नु पर्दैन ?’ भन्दै प्रश्न गरे ।
शर्माले २०७९ सालको चुनावदेखि २०८४ साल र २०८४ देखि २०८९ सालभन्दै चुनावको मात्र चिन्ता गरिरहने हो भने देशको बारेमा कहिले चिन्ता लिने भन्दै ? प्रश्न गरे । अन्य राजनीतिक पार्टी र विपक्षीलाई गाली नगरी पनि राजनीति गर्न सकिने स्पष्ट पार्दै राजनीतिक शब्दावलीमा गाली भन्ने शब्द नै प्रयोग गर्न नहुने शर्माले बताए ।
अहिले देखिएको अराजक शक्ति र समूहले समस्या उचाल्न मात्र जान्ने तर समाधानमा ध्यान दिन नसक्ने भन्दै उनले समग्र देशको समस्या समाधानका लागि इतिहासदेखि नै कांग्रेसले भूमिका निर्वाह गरिरहेको बताए । उनले सरकारको स्थायित्वका लागि नेकपा (एमाले) सँग सहकार्य गरिएको स्पष्ट पार्दै जनताका हितका लागि प्रस्तुत भएको अध्यादेश संसदबाट पारित गरिएको र भूमी व्यवस्थासम्बन्धी अध्यादेश खारेज नभएको स्पष्ट पारे ।
‘भूमी सम्बन्धी अध्यादेश अध्ययनमा राखिएको मात्र हो, जनताले जग्गा पाउने विषय कुनै पनि हालतमा रोकिन हुँदैन भन्नेमा हामी स्पष्ट छौं’, उनले भने । केही समयभित्र उक्त अध्यादेशले पनि सही ढंगले निकास पाउने र जनताले जग्गाको स्वामित्व प्राप्त गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मर सिंह पुनले स्थानीय तहका जनप्रतिनिधि कांग्रेस पार्टीका नेताहरु बीचमा विकाश निर्माणका काम गर्दा छलफल गरेर मात्रै काम गर्नुपर्ने बताए ।