२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

राजदूत तुलाधरद्वारा ओहदाको प्रमाणपत्र पेस

draupadi film
भरत प्रधान
२०८१ चैत २८ गते २०:५६
राजदूत तुलाधरद्वारा ओहदाको प्रमाणपत्र पेस

लिस्बन : डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेनरिक क्रिश्चियनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेकी छन् । 

कोपनहेगनस्थित क्रिश्चियनबोर्ग दरबारमा आयोजित विशेष समारोहकाबीच राजदूत तुलाधरले राजा फ्रेडरिकसमक्ष मंगलबार ओहोदाको प्रमाणपत्र पेस गरेकी हुन् । सो अवसरमा राजदूत तुलाधरले राजासँग शिष्टाचार भेटवार्तासमेत गरेकी थिइन् । भेटवार्तामा नेपाल र डेनमार्कबीचको सम्बन्धका विविध आयामका विषयमा छलफल भएको डेनमार्कस्थित नेपाली दूतावासले जनाएको छ ।

सन् २०१५ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै राजा फ्रेडरिकले जलवायु परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरका बारेमा चासो व्यक्त गरेका थिए । राजदूत तुलाधरले राजालाई  नेपालमा ’सगरमाथा संवाद–एभरेस्ट डाइलग’ को आयोजना गरिएको जानकारी गराउँदै जलवायु परिवर्तन र त्यसका असर तथा प्रभावका बारेमा अन्तर्राष्ट्रिय स्तरमा छलफल, बहस र सम्बोधन गर्ने उद्देश्य रहेको बताइन् । 

त्यसक्रममा नेपाल सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाउँदै तुलाधरले राजाको सुस्वास्थ्य र समृद्धिका साथै डेनमार्कका जनताको समृद्धिको कामना व्यक्त गरेकी थिइन् । 

सो अवसरमा राजदूत तुलाधरलाई बधाई ज्ञापन गर्दै राजाले सफल कार्यकालको शुभकामनासमेत दिएका थिए । उक्त समारोहमा राजदरबारका उच्च अधिकारीहरु,  राजदूतकी पति राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधान, दूतावासका कर्मचारीलगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise