२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

Nada
२०८१ चैत २९ गते ०७:०७
Shares
अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम : कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियालाई गाउँमै उद्यम गर्न रहर थियो । फेरि विदेश जाने मन थिएन । विदेशमा कमाएको पैसा जग्गा जोड्दा, बिहे गर्दा, बच्चा पढाउँदा र घर खर्च टार्दा सकियो । गाउँमै सानोतिनो व्यवसाय गर्न मन भए पनि लगानी नहुँदा उनी दोधारमा थिए ।

ncell

“गत साल सूर्योदय नगरपालिकाले रेमी कार्यक्रममार्फत कुखुरा पाल्न अनुदान दियो”, पौरखी मुखियाले भने, “नगरपालिकाले सात दिनको उद्यमशिलता तालिमसँगै कुखुरा पालन गर्न ४० हजार अनुदान पनि दिएपछि स्थानीय जातका कुखुरा पाल्न थालेँ । अब विदेश जान्न” 

डेढ लाख लगानीमा व्यवस्थित खोर बनाएर ६०० वटा चल्ला पालेका उनले कुखुरा बेचेर मनग्गे आम्दानी गरिरहेका  छन् । उनीमात्र होइन उक्त वडाका इन्द्रजित मुखिया, सपना सुवेदी, राजेन्द्र गिरी, विराज तामाङले  नगरपालिकाको अनुदानबाट कुखुरा पालन गरिरेका छन् ।

साढे तीन वर्ष साउदी अरब बसेकी सपना सुवेदीलाई त्यहाँको दुःख सम्झदा आङ सिरिङ्ग हुन्छ । बाख्रा र कुखुरापालन सँगै चियाखेतीमा व्यस्त उनी पनि विदेश नजाने अठोटका साथ कृषि कर्ममा रमाइरहेकी छिन्। नगरपालिकाबाट उनले रु एक लाख अनुदान लिएकी थिइन् । 

“गाउँमा केही गर्छु भन्ने सबैसँग लगानी गर्ने रकम हुँदैन । रेमीले बिना ब्याजमा पैसा दिएपछि बाख्रा, कुखुरा पाल्न सजिलो भएको छ । तीन वर्षमा साँवा फर्काउने मात्र हो । ब्याज लाग्दैन”, कुखुरालाई दाना दिँदै उनले भनिन् ।

गत वर्ष नगरपालिकाले स्वरोजगार कार्यविधि बनाएर उद्यम गर्न चाहनेलाई अनुदानको व्यवस्था गरेको नगरप्रमुख रणबहादुर राईले बताए । व्यक्तिगत रूपमा रु एक लाखसम्म र समूह वा सहकारीमा आबद्ध भएमा रु पाँचदेखि दश लाखसम्म बिना ब्याज ऋण दिइने उनले जानकारी दिए । 

सम्बन्धित खबर