ललितपुर : नेपाली कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर जबराले अन्य दक्षिण एसियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रहेको बताएका छन् ।
नेपाल पत्रकार मञ्चको आज ललितपुरमा आयोजित सातौँ महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका उनले नेपाली मिडिया समाजका पहरेदारका रूपमा क्रियाशील रहेकामा त्यसको सराहना गरे ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारको हकहितका लागि पत्रकार महासंघ सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक प्रसारण सेवा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतले पत्रकारिता जोखिमपूर्ण पेसा भएको बताउँदै राज्यले पत्रकारिताको संवेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिए ।
मञ्चका अध्यक्ष युवराज विद्रोही कुनै पनि राजनीतिक दलमा पत्रकार लाग्न नहुनेमा जोड दिए । त्यस अवसरमा क्रियाशील पत्रकारिता पुरस्कार नायब महाप्रबन्धक चटौत, प्रताप स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका रामकला खड्कालाई प्रदान गरिएको थियो ।
गौरीनारायण श्रेष्ठ मध्याह्न पुरस्कार चन्द्र सूर्य वाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई, नाजीर उद्दीप स्मृति पत्रकारिता पुरस्कार चेतनराज सापकोटा, डा. चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार फोटो पत्रकार घनश्याम श्रेष्ठ र बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार टेलिभिजन पत्रकार टंककला तिमल्सिनालाई प्रदान गरिएको थियो ।