काठमाडौं : हङकङमा जारी चार देशीय टी–२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडका हुन् ।
३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भएसँगै फाइनलमा प्रवेश गरेको हो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र छ । नेपाल समूहमा पहिलो हुँदै फाइनलमा स्थान बनाएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।
शनिबार खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो ।
त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन ।
नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।