पोखरा : पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनीले जित हासिल गरेको छ ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिताको समूह ‘सी’ तर्फ शनिबार पहिलो खेल कर्णाली एकेडेमी क्रिकेट क्लब र हिमाल फ्रेन्ड्सबीच हुने भनिएपनि वर्षाका कारण खेल नहुँदा दुवै टिमले १÷१ अंक बाडे ।
दुवै टिमको समान दुई खेलबाट समान ३÷३ अंक रहेपनि नेट रनरेटको आधारमा हिमाल फ्रेन्ड्स अघि रहँदै शीर्षस्थन हासिल गरेको छ । उसको १.१८१८ अंक रहँदा कर्णाली ०.८८२४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
दोस्रो खेललाई समेत प्रभाव पारेपछि १९ ओभरमा झारिएको थियो । दोस्रो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले मधेश प्रदेश क्रिकेट क्लबलाई ५ विकेटले हरायो । १२९ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १८ ओभरमा ५ विकेट गुमाउँदै १३१ रन बनायो । ओपनर देव खनाल ४३ रनमा बोल्ड भए ।
त्यसअघि टस जितेर व्याटिङ थालेको मधेश प्रदेशले १९ ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनायो ।
लुम्बिनीका लागि अजय कुमार चौहानले ४ ओभरमा २७ रन खर्चँदै सर्वाधिक ३ विकेट लिए । देव खनालले २ तथा मोहम्मद हुसेन, सन्देश थापा र अभिषेश गौतमले समान १÷१ विकेट लिए ।
लुम्बिनी जित पश्चात तालिकाको तेस्रो स्थानमा रहेको छ । २ खेलमा १ जित र १ हार बेहोरेको लुम्बिनीको २ अंक रहेको छ । २ खेलमै हार व्यहोरेको मधेश तालिकाको अन्तिममा रहेको छ ।
५ वैशाखसम्म सञ्चालन हुने प्रतियोगितामा आइतबार समूह ‘सी’ को अन्तिम खेलहरू हुनेछन् । जसअनुसार लुम्बिनी खुकुरीले कर्णाली एकेडेमीको सामना गर्नेछ भने मधेश प्रदेशले हिमाल फ्रेन्ड्सको सामना गर्नेछ ।