ललितपुर : नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन ललितपुरमा सम्पन्न भएको छ । पूर्व अर्थराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाको प्रमुख आतिथ्यतामा भएको महाधिवेशनको उद्घाटन सत्रमा पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा पूर्वराज्यमन्त्री राणाले प्रेस स्वतन्त्रताको महत्व र गणतन्त्रको मूल्यलाई उच्चारण गर्दै भने, ‘नेपालका पत्रकारहरूले यथार्थको धरातलमा सत्ता र शक्तिको सही स्थिति उजागर गर्दै आएका छन्। गणतन्त्रको कमजोर पक्षलाई सुधार्न आवश्यक छ, तर त्यसको विकल्प खोज्न मिल्दैन ।’
उनले नेपालको मिडियामा रहेको स्वतन्त्रता र दक्षिण एशियामा यसको महत्व पनि उल्लेख गर्दै भने, ‘नेपालका पत्रकारहरूले जो साँचो कुरा भन्नुपर्छ, ती मुद्दाहरूको खुलासा गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।’
बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले पत्रकारिता क्षेत्रको सशक्तीकरणमा मञ्चको भूमिका र पत्रकारहरूको योगदानको महत्वकासाथ वकालत गरे । उनले विश्वास व्यक्त गर्दै भने,‘आगामी नेतृत्वले पनि सत्य–तथ्यका आधारमा समाचार प्रवाह गर्दै जनताको पक्षमा काम गर्दै जानेछ ।’
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले हालका पत्रकारिता चुनौतिहरू र पेशागत धर्मका विषयमा प्रकाश पार्दै समाजका सबै पक्षले सञ्चारमाध्यम र पत्रकारहरूलाई निशाना बनाइरहेकोमा आपत्ति जनाए । उनले भने, ‘पत्रकारहरूले आचारसंहिताका आधारमा काम गर्दा आतंकित हुनु पर्ने अवस्था समाप्त गर्न जरुरी छ ।’
उद्घाटन समारोहमा मञ्चसँग आवद्ध ६ जना पत्रकारलाई पुरस्कृत र सम्मान गरिएको थियो । नेपाल टेलिभिजनका नायव महाप्रबन्धक आरती चटौतलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उनलाई नगद २५ हजार रुपैयाँ र प्रमाणपत्रसहित समावेश थियो । अन्नपूर्ण पोस्ट दैनिककी समाचार सम्पादक रामकला खड्कालाई प्रताप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जसमा नगद १५ हजार रुपैयाँ समावेश थियो । चन्द्रसूर्यवाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह दैनिक पत्रकारिता पुरस्कार दिइएको छ । जसमा ११ हजार १ सय ११ रुपैयाँ राशिसहित सम्मान गरिएको थियो ।
त्यस्तै, चेतनराज पाण्डे, घनश्याम श्रेष्ठ, र टंककला तिमिल्सेनालाई क्रमशः नाजिर उद्दिन मिया स्मृति, डा. चुडाबहादुर श्रेष्ठ स्मृति, र बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हरेकलाई ५ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र दिइएको छ ।
समारोहमा तीन दशकदेखि पत्रकारितामा सक्रिय शिरोमणि दवाडी, महिला प्रकाशक सितादेवी श्रेष्ठ, मञ्चका संस्थापक महासचिव बैकुण्ठ भण्डारी, क्रियाशील पत्रकार गिरिजाप्रसाद अधिकारी, गैरसरकारी संस्था महासंघका उपमहासचिव किरण थापा, सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का उपाध्यक्ष नविनरसिंह नेपाली, कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का उपाध्यक्ष चिरञ्जिवी अधिकारी, र नेपाल मोबाइल वितरक संघका अध्यक्ष रघुनाथ त्रिपाठी (गृहनाथ)लाई कदरपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो ।
कार्यक्रमको समापनमा मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारितामा निष्पक्षता र पारदर्शिताको महत्वको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्दै पत्रकारलाई आस्थाविहीन र निर्भीक भएर काम गर्नुपर्नेमा जोड दिए । उनले भने,‘व्यक्तिगत आस्था जे भए पनि पत्रकारले कुनै पनि समाचार लेख्दा पूर्वाग्रह राख्नु हुँदैन ।’
महाधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव बैकुण्ठराज पराजुली, नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष रोयल आचार्य, ललितपुर जिल्ला अध्यक्ष रामकृष्ण रामहरि कार्की, मञ्चका संस्थापक अध्यक्ष योगेन्द्र प्रताप शाहीलगायतका विभिन्न विशिष्ट अतिथिहरूले आसन ग्रहण गरेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका महासचिव बिमल थापाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष चन्द्रमणि भट्टराईले प्रस्तुत गरेका थिए ।
अध्यक्षमा पुनः बिद्रोही निर्वाचित
महाधिवेशनले पुनःयुवराज विद्रोही अध्यक्ष रहने गरी १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्षमा विमल थापा, महासचिवमा राजु भण्डारी, सचिवमा प्रितमसागर कर्माचार्य, सन्तोष मिश्र, सचिव (महिला)मा कमला नेपाल, कोषाध्यक्षमा गीता थापा चयन भएकी छन् ।
यस्तै सदस्यहरुमा प्रज्ज्वल थापा, जितेन्द्र श्रेष्ठ (जेन), श्यामबाबु आचार्य, टंककला तिमल्सिना, सुशीला गौतम, अञ्जु श्रेष्ठ, लक्ष्मी भट्ट, केशव बस्नेत, केशवराज पौडेल र मिलन थापा चयन भएका छन् ।