वीरगन्ज : हनुमान जयन्ती अवसरमा निकालिएको शोभायात्रामा ढुंगामुढा हुँदा भएको झडप नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले वीरगन्जमा कर्फ्यू लगाएको छ ।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार शोभायात्राका क्रममा एक समूहले ढुंगामुढा गरेपछि झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साढे ६ बजेदेखि सोमबार मध्याह्न १२ बजेसम्मका लागि वीरगन्जको मुख्य बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पूर्वमा वीरगन्ज– १५ मा रहेको भेडियाही चोक, पश्चिममा वीरगन्ज– २५ को सिर्सिया चोक, उत्तरमा वीगरन्ज– १४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज– १६ को शंकराचार्य चोकसम्म कर्फ्यू लगाइएको हो ।
प्रत्येक वर्षझैं हनुमान जयन्तीको शोभायात्राका क्रममा वीरगन्ज घन्टाघरदेखि दक्षिणतर्फ गएर फर्किने क्रममा छपकैया– ३ मा रहेको श्रीराम हल चोक नजिक अज्ञात समूहबाट ढुंगामुढा भएपछि तनाव सिर्जना भएको थियो ।
ढुंगामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २ दर्जन अश्रुग्यास प्रहार गरेको थियो । घटनामा २ प्रहरी निरीक्षक र केही स्थानीय पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार शोभायात्रामा हिँडेकाहरूलाई मस्जिदबाट ढुंगा प्रहार भएपछि सुरु भएको झडप तनावग्रस्त बनेको हो ।
झडपका क्रममा एउटा मोटरसाइकलमा समेत आगजनी भएको छ । केही होटलमा पनि आगजनी र तोडफोड गरिएको छ ।
प्रशासनले अत्यावश्यक सेवामा संलग्न सवारी साधन र व्यक्तिहरूले आवश्यक कागजातसहित परिचय खुल्नेगरी मात्र आवतजावत गर्न पाउने स्पष्ट पारेको छ । कर्फ्यू उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ ।
कर्फ्यू आदेश भएको क्षेत्रभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ ।
अहिले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।