पूर्वराजा ज्ञानेन्द्र शाह चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनाबारे बोलेका छन् । नयाँ वर्ष २०८२ सालको शुभकामना दिन पूर्वराजा ज्ञानेन्द्रले आइतबार एक भिडियो सन्देश जारी गरेका छन् । उक्त भिडियोमा पूर्वराजा शाहले तीनकुने घटनाबारे केही कुरा उल्लेख गरेका छन् ।
पूर्वराजा शाहले जनप्रदर्शनमा भएको हिंसा, आगजनी, तोडफोडबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति दुःख लागेको उल्लेख गरेका छन् । उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै तन्त्र नहुने बताएका छन् ।
वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो।
प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो । तीनकुने घटनाबारे प्रधानमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेका थिए ।