जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले हिमा गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नागरिकको गुनासो र सुझाव संकलन गर्ने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । जिल्ला प्रहरी कार्यालय सामुदायिक प्रहरी जुम्लाको प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनाइ कार्यक्रम गरिएको हो ।
यसअघि पातारासी गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम गरिएको थियो । प्रहरीले नागरिकहरुलाई दिने सेवा प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि नागरिकको गुनासो सुन्न नागरिक सुनुवाइ कार्यक्रम गाउँपालिकास्तरमा आयोजना गरिएको प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले बताए ।
उनले नागरिक सुनुवाइ कार्यक्रमले प्रहरी र नागरिकको सम्बन्ध राम्रो हुने बताए । उनका अनुसार प्रत्येक पालिका पुगेर नागरिक सुनुवाइ कार्यक्रममार्फत आएको गुनासोसहितको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने तयार रहेको छ ।
त्यस्तै हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले पालिकालाई लक्षित गरी उठेका सवालको बारेमा स्पष्ट पारेका थिए । उनले नागरिकको लागि शान्ति, सुरक्षा कायम गर्ने प्रहरीले आफ्नो कार्य प्रगती नागरिक माझ सार्वजनिक गर्नु राम्रो कुरा रहेको बताए । उनले प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापित गर्न हिमा गाउँपालिकामा नागरिक सुनुवाइ सञ्चालन गरेको बताए । उक्त कार्यक्रममा स्थानीय नागरिकसँगका गुनासो सुन्ने, समुदायका समस्या र प्रहरीले गर्नुपर्ने दायित्वको सन्दर्भमा अन्तरक्रिया समेत भएको थियो ।
त्यस्तै जिल्ला सरकारी वकिल अनिल रेग्मीले कानुन सबैलाई बराबर छ, कानुनको अनविज्ञता क्षम्य हुँदैन भन्दै कुनै पनि नागरिकले अन्यय सहेर नबस्न अनुरोध गरे । त्यस्तै समुदाय र प्रहरीसँगको सहकार्यमा काम गर्दै आइरहेको शान्त र सुरक्षित समाजका निमित्त प्रहरी र स्थानीय पदाधिकारीले मात्रै गरेर नहुने हुँदा सो विषयमा आमनागरिक पनि त्यतिकै सजक रहनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।