काठमाडौं : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाधानमुखी पत्रकारिताको बाटोलाई अँगाल्न समस्त मिडिया जगतलाई सुझाव दिएका छन् ।
समाधानमुखी र रचनात्मक पत्रकारिताको विकास नहुँदा समाजमा निराशा छाएको उनको टिप्पणी छ ।
‘हरेक क्षेत्रमा प्रणाली बलियो बनाई सोही अनुसार काम गर्न हामी सृजनात्मक र रचनात्मक हुन सकेका छैनौं । समाधानमुखी होइन, समस्यामुखी बन्यौं । भएका र गरेका कामको चर्चा समेत गरेनौं । त्यसका लागि मिडिया र सामाजिक सञ्जालको समेत सही प्रयोग गर्न चाहेनौं’ नयाँ वर्षको अवसरमा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपाली मिडियाको नियामक निकाय काउन्सिलका प्रमुख बस्नेतले नयाँ वर्षबाट त्याग्नुपर्ने र सुरुवात गर्नुपर्ने काम धेरै रहेको उल्लेख गर्दै नेपालमा केही हुँदैन भन्ने भाष्य त्याग्नुपर्ने धारणा राखेका छन् ।
‘त्याग्नुपर्ने धेरै कुरा छन् । सुरुवात गर्नुपर्ने र कतिपय थाहा भएका कुरा समेत महसुस गरेर, सच्चिएर अघि बढ्नुपर्ने थुप्रै काम छन् । अरुलाई नराम्रो देख्ने, आफ्नो समिक्षा नगर्ने प्रवृत्ति हटाउनुपर्नेछ,’ अध्यक्ष बस्नेतले लेख्नुभएको छ,‘प्रणाली र व्यवस्थाको दृष्टिले नेपाल उत्तम छ । तर, हामीले त्यसलाई उपयोग र स्थापित गर्न सकेका छैनौं ।’
उनले आशाको किरण रोक्न र नेपालमा कहिले केही हुँदैन भन्ने निराशाको खेती फैलाउन नहुनेतर्फ सबै सजग हुनुपर्ने धारणा राखेका छन् ।
‘केही हुँदैन भन्ने चिन्तन र प्रवृति नयाँ वर्षबाट त्यागेर, हामी मिलेर समृद्ध नेपाल बनाउन सक्छौँ भन्ने प्रण गर्न जरुरी छ । सामाजिक सञ्जालसहितका मिडियाले पनि अब के भएन मात्र होइन, किन भएन ? त्यसको समाधान के हुन सक्छ ? भएका राम्रा काम के के हुन् ? अब गर्नुपर्ने काम के हुन् भनेर औल्याउनुपर्ने बेला आएको छ,’ अध्यक्ष बस्नेतको धारणा छ ।
देशका सम्भावना बोकेका युवालाई बाहिर धकेलिरहने हैन, बाहिर बसेकालाई समेत फर्कने वातावरण बनाउन जरुरी भइसकेको उल्लेख गर्दै उनले लखेका छन्‘देश अरूले बनाइदिने होइन, बरू नेपाली जहाँ रहेपनि एकापसमा मिल्दा सम्भावना छ । त्यसैले, सकारात्मक सोचौं । नकारात्मकता हटाऔं । आलोचनात्मक चेत राखौं ।’