काठमाडौं : गत ४ चैतमा काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरो प्रकरणका मालिक र भरियाविरुद्ध मुद्दा दायर भएको छ । ट्रक चालक र रकमका मालिक दुवै जनाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
२५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँसहित पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकका फुच्चे भनिने कुसाङ लामा र २५ करोडका मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका– ४ स्थायी घर भई टोखा नगरपालिका– १० बस्ने नारायण पौडेलविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।
मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर भएको राजस्व अनुसन्धान विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् । दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन, २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको श्रेष्ठको भनाइ छ ।
उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिमानासमेत मागदाबी गरिएको छ । मुद्दा दायर गरिएकामध्ये पौडेल भने फरार छन् ।
बरामद ट्रकलाई कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐनअनुसार जफतका लागि मागदाबी गरिएको छ ।
कुसाङ यसअघि यस्तै सुन प्रकरणमा पक्राउ परेर छुटेका व्यक्ति भएकाले थप सजायसमेत मागदाबी गरिएको छ । ४ चैत राति ना७ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीनतर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक लामालाई पक्राउ गरेको थियो ।
भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर उक्त रकम लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।