काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गभर्नर नियुक्त हुने बताएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्नेमा ढिलाइ भएको जिकिर गरे । उनले सत्तारूढ दलहरूबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारीसमेत दिए । उनले सत्तारूढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिनेसमेत जानकारी दिए ।
सरकार शिक्षकका मागहरूप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गरे । उनले शिक्षकका जायज मागहरू पूरा गर्नको लागि सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेकोसमेत जानकारी दिए ।