२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

Nada
२०८२ वैशाख ४ गते ०७:०४
Shares
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा उक्त परिमाणमा उत्पादन भएको हो । 

ncell

केन्द्र प्रमुख कुलप्रसाद तिवारीले उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार ३१९ र सर्सियु एक हजार ७१५ मेट्रिक टन रहेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा यहाँ दुई हजार ४४३ हेक्टर क्षेत्रफलमा तोरी खेती गर्दा दुई हजार ९७१ मेट्रिक टन र २०७९/८० मा दुई हजार ४३३ हेक्टर क्षेत्रफलमा खेती गरिँदा दुई हजार ९२० मेट्रिक टन उत्पादन भएको थियो ।

आव २०८०/८१ भन्दा यस वर्ष तोरी खेती गर्ने क्षेत्रफल २६ हेक्टर र उत्पादन ६३ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि बालीविज्ञ सञ्जय ढकालले बताए । “विगत तीन वर्षको तथ्यांकलाई हेर्दा तोरी खेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढिरहेको छ । जिल्लामा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ”, उनले भने । 

ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्ले अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गर्नु राम्रो हुने बुझाईले किसानहरू तोरी खेतीमा आकर्षित हुँदै गएका बताउँछन् । यहाँको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा बढी मात्रामा तोरी खेती गरिन्छ ।

सम्बन्धित खबर