२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

शान्तिसुरक्षा खोज्दै मुस्लिम समुदायले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

draupadi film
मध्यान्ह
२०८२ वैशाख ४ गते २१:३१
शान्तिसुरक्षा खोज्दै मुस्लिम समुदायले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं : वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न तनाव र हिंसात्मक घटनाप्रति गृहमन्त्री रमेश लेखकलाई मुस्लिम समुदायका अगुवाहरुले ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् । मुस्लिम अगुवाहरूले शान्ति सुरक्षामाथि चिन्ता व्यक्त गर्दै गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापन पत्रमा भनिएको छ, ‘शान्ति, सुव्यवस्थालाई खल्बल्याउने जो सुकै भएपनि कानूनको दायरामा ल्याएर सख्त कारबाही होस्, अमूक सेनाहरूको गैरकानूनी गतिविधिहरू बन्द गरियोस्, मुस्लिम समुदायको छवि बिगाड्ने काम रोकियोस्, मुस्लिमको सामुदायिक सुरक्षाको प्रत्याभूति गरियोस्’ भनि उल्लेख गरिएको छ ।

वीरगञ्जमा हनुमान जयन्तिलगायत अन्य धार्मिक प्रदर्शनमा फरक रुट प्रयोग हुँदै आएकोमा यसपटक मुस्लिम बाहुल्य क्षेत्रबाट रुट निर्धारण गर्नु र योजनाबद्ध रुपमा केही युवाहरुले हतियार प्रदर्शन गर्दै मुस्लिम बस्तीमा आतंक फैलाउन खोज्नु गम्भीर र षड्यन्त्रपूर्ण योजनाको द्यौतक रहेको ज्ञापन पत्रमा उल्लेख छ । 

समाजका सबै धार्मिक, साँस्कृतिक तथा जातीय समुदायबीच एक अर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवम् सहिष्णुता कायम हुनसक्ने भएकाले सम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीले आश्वासन दिएका छन् ।

उनले बेला–बेला यस्ता घटना भइरहँदा पनि यसलाई समाधान,  भाइचारा कायम गरी एकअर्काप्रति सम्मान र सद्भाव कायम गर्दै अगाडि बढेको भन्दै वीरगञ्ज घटनाप्रति सरकार गम्भीर भएको बताए । 

मुस्लिम अगुवाहरूसँगको भेटमा उनले मन्त्रालयका सहसचिवहरूलाई गम्भीर रूपमा छानबिन गर्न निर्देशन दिए । गृहमन्त्री लेखकले आफुले वीरगञ्जको प्रशासनलाई दुवै समुदायका धार्मिक गतिविधिहरुमा फरक–फरक रुटहरु प्रयोग गराउन र त्यस्ता घटनाहरु नदोहोरिनसमेत निर्देशन दिएको बताए ।

मन्त्रीसमक्ष पूर्वराज्यमन्त्री मोहम्मद जाकिर हुसैनले समस्याको तत्कालिक समाधान होइन् दीर्घकालीन र दीगो  समाधान खोज्नुपर्ने बताए । उनले गृहमन्त्रीलाई यस विषयमा गृह प्रशासन कमजोर देखिएको छ, यसलाई के भन्ने भनि गरे ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा  संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री मोहम्मद जाकिर हुसैन, मुस्लिम आयोगका अध्यक्ष महमदिन अली, इस्लामी संघ नेपालका अध्यक्ष नजरुल हसन फलाही, नेपाल मुस्लिम महिला समाज कल्यानकी अध्यक्ष सीमा खान, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य ताज मोहम्मद मियाँ र मुलिम समुदायका अन्य अगुवाहरुको उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise