रौतहट : प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालय स्थापनाको माग राख्दै सोमबार दोस्रो दिन पनि गौर भन्सार कार्यालयमा व्यवसायीहरुले धर्नाका साथै प्रदर्शन गरेका छन् ।
गौर भन्सार कार्यालयमा प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालयको अभावमा रौतहटका व्यापारी व्यवसायीहरुलाई मलंगवा र वीरगन्जको बाटो प्रयोग गरेर आलु, प्याज, फलफुल, चामल, माछा लगायतका खाद्यान्नहरु ल्याउँदा ढुवानी खर्च बढेपछि व्यापार गर्न निकै अप्ठ्यारो भइरहेको उनीहरुले बताएका छन् ।
अविलम्ब क्वारेन्टिन व्यवस्थापन गर्न सरकारसँग जोडदार रुपमा माग राख्दै उनीहरुले धर्ना प्रदर्शन गरेका हुन् । व्यापारी व्यवसायीको धर्ना प्रदर्शनलाई उद्योग वाणिज्य संघ रौतहटले पनि ऐक्यबद्धता जनाएको छ ।
संघका अध्यक्ष पण्डित प्रसाद जयसवाल, महासचिव रबीन्द्रनाथ गोपालीसहितका कार्य समितिका सदस्यहरु सोमबार गौर भन्सार कार्यालयको मुख्य गेटमा धर्नामा बसेर ऐक्यबद्धता जनाएका हुन् ।
प्लान्ट क्वारेन्टिन खाद्यान्न कार्यालयको अभावमा गौर भन्सार कार्यालयको लक्षित गरिएको वार्षिक राजस्व प्रभावित हुँदै आएको हुँदा अविलम्ब क्वारेन्टिन खाद्यान्न कार्यालय स्थापन गर्नेतर्फ आवश्यक कदम चाल्नुपर्ने संघका अध्यक्ष जयसवालले बताए ।
सोमबार दोस्रो दिनपनि कौशल साहको नेतृत्वमा धर्ना प्रदर्शन गरेको थियो । व्यापारी, व्यवसायीहरु दिउँसो १२ बजेदेखि २ बजेसम्म धर्ना बस्ने गरेका छन् ।
प्रत्येक दिन १ घण्टा थप गर्दै वैशाख १५ गतेसम्म धर्ना बस्ने र राज्यले समस्या समाधान नगरे वैशाख १६ गतेदेखि भन्सार कार्यालयको ब्यारियरमा तालाबन्दी गर्ने उनीहरुले बताएका छन् ।