२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नेपाली जनसम्पर्क समिति स्पेनद्वारा नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

Nada
२०८२ वैशाख ९ गते १४:५०
Shares
नेपाली जनसम्पर्क समिति स्पेनद्वारा नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

बार्सिलोना : नयाँ वर्ष २०८२ को अवसरमा नेपाली जनसम्पर्क समिति स्पेनले सांस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ वर्षलाई स्वागत गरेको छ । सर्वाधिक लोकप्रिय लोक तथा दोहोरी गायक पशुपति शर्माको प्रस्तुतिले कार्यक्रमलाई भव्य बनाएको थियो । साथमा उल्लेख्य सांगीतिक, नृत्य र साहित्यिक प्रस्तुतिहरूले झनै आकर्षक बनाएको थियो । स्थानीय कलाकारहरुदेखि लिएर नवप्रतिभाहरूले समेत आफ्नो प्रस्तुति दिएका थिए ।

ncell

उक्त संस्थाले केवल सांस्कृतिक कार्यक्रम मात्र नभइ समाज सेवाका अन्य विविध पक्षहरूमा पनि आफ्नो सक्रियता देखाउँदै आएको छ । हालै सम्पन्न भएका कार्यक्रमहरूमध्ये स्पेनिस भाषा कक्षालाई निरन्तरता दिने, नवआगन्तुकहरु लक्षित “वेटर तालिम कार्यक्रम” सञ्चालन गरी रोजगारमुखी सीप विकासमा टेवा पुर्‍याउने, बच्चाहरुलाई डिजीटल लत छुटाउन साथै आत्मरक्षा कौशल अभिवृद्धिका लागि कराते प्रशिक्षण तथा शारिरीक ब्यायमका कक्षा सञ्चालन गर्ने,
अंग्रेजी भाषा सिक्न इच्छुक विद्यार्थी तथा युवाहरूका लागि विशेष अंग्रेजी भाषा कक्षा पनि संचालन गर्ने, सजिलो भाषा सिक्ने सकिने पुस्तक नि:शुल्क वितरण लगायतका कार्यक्रमहरु जारी तथा घोषणा गरिएको छ ।

नवआगन्तुक र स्पेनमा काम गर्ने अनुमति प्राप्त गरिनसकेकाहरुलाई स्थानीय भाषा तथा सीपको विकासमार्फत अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अगाडि बढ्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले भने, 'हामी समाजको विविध तहमा प्रभावकारी योगदान दिने उद्देश्यका साथ अघि बढिरहेका छौं । शिक्षा, सीप विकास, स्वास्थ्य, नव प्रतिभाहरुलाई नेपालसँग जोड्ने, नेपाल सरकार र दूतावाससँग भैपरि आउने अप्ठ्याराहरुमा समन्वय गर्ने र नेपाली संस्कृतिको संरक्षण गर्ने हाम्रो प्राथमिकता हो ।'

नयाँ ठाउँमा सामाजिक र कानुनी हिसाबले कोठा, काम र पात्रोमिन्त्रोलगायत जानकारी नपुगेका कारण कोही पनि समस्यामा नपरुन् भन्ने हेतुले 'आवश्यकतामा विशेश्वर' अभियानअन्तर्गत विभिन्न आन्तरिक कार्यक्रमहरु समेत गर्दै आएको र अझै थप सक्रियता साथ गर्दै जाने उनले जानकारी दिए । 

समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ सक्रिय रुपमा काम गरिरहेको संस्थाले आगामी दिनमा अझ बढी कार्यक्रमहरू ल्याउने योजना बनाएको छ।

गैरआवासीय नेपाली संघका युरोप संयोजक चिन्तामणि सापकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाका पूर्वउपाध्यक्ष पुष्पराज भण्डारी, इन्द्र शर्मा, गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष पेशल कोइराला, जन प्रगतिशील मञ्च युरोपका उपाध्यक्ष गंगा भुसाललगायतले संस्थाको कार्ययोजना र सक्रियताको प्रशंसा गर्दै मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर