२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

नेपाल नेत्रज्योति संघ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने

Nada
२०८२ वैशाख ९ गते १४:५४
Shares
नेपाल नेत्रज्योति संघ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने

काठमाडौं : नेपाल नेत्रज्योति संघ र नेपाल प्रहरी अस्पतालबीच आँखा उपचारमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा ती संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

संघका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार दुवै पक्षबीच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यक्रमहरु अगाडि बढाउन र आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गरी रोकथामका उपायहरू अवलम्बन गर्ने कार्यमा सहकार्य हुनेछ ।

त्यसैगरी नेपाल प्रहरी अस्पताल (प्रादेशिक अस्पतालहरू समेत) बाट रिफर भई आएका बहालवाला प्रहरी कर्मचारीहरुको आँखासम्बन्धी उपचार तथा शल्यक्रियाहरू नेत्रज्योति संघअन्तगर्तका आँखा अस्पतालहरुबाट निःशुल्क गरिनेछ ।

उक्त समझदारीपत्र हस्ताक्षर कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्दले नेपालबाट अन्धोपन निवारण गर्ने संघको योजनामा दुई संस्थाबीचको सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँदै उनले आगामी दिनमा सेवा विस्तारका लागि संघ सदैव तयार रहेको बताए ।

प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गरे । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति संघबिच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने उनले विश्वास व्यक्त गरे ।

समझदारीपत्रमा संघका तर्फबाट महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र तथा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, आँखारोग विभाग प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा ज्योति बाँस्तोला पौडेलले हस्ताक्षर गरेका छन् ।

सन् १९७८ मा स्थापना भएको नेपाल नेत्रज्योति संघले  २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र, र ४५ जिल्ला शाखामार्फत वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई आँखासम्बन्धी सेवा दिँदै आएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर