काठमाडौं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ ।
उनले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको जिकिर गरे । उनले छलफलमा प्रधानमन्त्री बन्नेहरुलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरे ।
व्यक्तिगत जमिन राख्ने व्यवस्था सदाका लागि अन्त्य गर्नुपर्ने गौतमको जिकिर छ ।