काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आगामी संसदको अधिवेशनमा शिक्षकका माग पूरा हुनेगरी विद्यालय शिक्षा विधेयक पारित गर्ने बताएका छन् ।
बुधबार सभामुख देवराज घिमिरेले र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग भएको छलफलबारे पत्रकारहरुलाई जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।
उनले वैशाख १२ गतेदेखि शुरु हुने बजेट अधिवेशनबाटै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरे । संसद अधिवेशनको नियमित कार्यसूचीका नीति तथा कार्यक्रमलाई केही दिन होल्ड गरेर भएपनि शिक्षा विधेयक पारित गर्ने उनको भनाइ छ । उनले शिक्षा उपसमितिमा छलफल भइरहेको शिक्षा विधेयक समितिमा पुगेपछि संसदमा आउन वैशाख महिनाको अन्तिम सातासम्म लाग्न सक्ने बताए ।
ऐन कानुन निर्माणको आफ्नै विधि र प्रक्रिया रहेकाले केही समय लाग्ने उनको भनाइ थियो । उनले शिक्षकहरुमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिन आग्रह गरे । सरकारले जनाएको प्रतिबद्धतालाई शिक्षकहरुले सकारात्मक ढंगले ग्रहण गर्नुपर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले वैशाख १९ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने बताए । उनले सभामुखसँगको छलफलमा शिक्षा विधेयकको विषयमा खास छलफल नभएपनि समितिबाट संसदमा विधेयक आयो भने प्राथमिकताका साथ अगाडि बढाउने निर्णय भएको बताए । आगामी अधिवेशनमा सरकारको नीति तथा कार्यक्रममाथि हुने छलफल नै प्रमुख विषय भएको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शिक्षकको मागअनुसार विद्यालय शिक्षालाई बलियो हुनेगरी शिक्षा ऐन जारी हुने बताए । कानुन निर्माणमा संसदको भूमिका र प्रक्रिया हुने भएकाले शिक्षकहरुले काम गर्न समय दिनुपर्ने बताए । उनले शिक्षा विधेयक धेरै पहिलानै आउनुपर्ने भएपनि आगामी अधिवेशनमा विधेयक निर्माणमा संसद तयार रहेको बताए । शिक्षा ऐन शिक्षकहरुको माग मात्रै नभइ राजनीतिक उपलब्धि र शैक्षिक प्रणालीको मेरुदण्ड भएको उनको भनाइ छ ।
प्रमुख सचेतक परियारले शिक्षामन्त्रीको राजीनामा सामान्य प्राविधिक कुरा भएकाले यो ठूलो विषय नभएको बताए ।