२०८२ वैशाख ११ गते बिहिवार / Apr 24 , 2025 , Thursday
२०८२ वैशाख ११ गते बिहिवार
Ads

१९औँ लोकतन्त्र दिवस आज

draupadi film
मध्यान्ह
२०८२ वैशाख ११ गते ०६:५४
१९औँ लोकतन्त्र दिवस आज

काठमाडौँ : आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुन:स्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको बि.सं. २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ ।

त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्य शक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरूप प्रतिनिधि सभालाई पुन:स्थापित गरिएको छ ।”

निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत बि.सं. २०६३ वैशाख १५ गते प्रतिनिधि सभाको बैठक आह्वान गरिएको थियो ।

जनआन्दोलनका बलमा स्थापना भएको लोकतन्त्रपछि भएका दुई वटा संविधान सभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट बि.सं. २०७२ साल असोज ३ गते जारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपाललाई संघीयतामा प्रवेश गराएको हो । सोहीबमोजिम संघ, प्रदेश र स्थानीय तहको दुई पटक निर्वाचन भई अहिले मुलुक संघीयताको अभ्यासमा छ ।

राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवा सुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्‍याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा संघीताको अभ्याससँगै संघ प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।

यसैबीच, लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै परिवर्तन र शान्तिकामी राजनीतिक दलका नेताहरूले देशको समृद्धिका निम्ति सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन नसक्ने भएकाले यसै कुरालाई हृदयंगम गरी सम्पूर्ण राजनीतिक शक्ति  समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

बि.सं. २०६२/६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise