गोरखा : गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालु आर्थिक वर्षसम्म करिब ३३ हजार ७१५ धारा जडान गरिएका हुन् ।
कार्यालयको तथ्यांकाअनुसार आव २०८०/८१ सम्म जिल्लाभर ३३ हजार २१५ धारा जडान गरिएकामा चालु आवमा थप पाँच सयभन्दा बढी धारा जडान भएका हुन् । यो जिल्लाको कुल लाभग्राहीमध्य ९१ दशमलव पाँच प्रतिशत हो । कार्यालयका सब-इन्जिनियर दीपक खनालले यो कार्यक्रम लागू भएको पाँच वर्षमा उल्लेख्य प्रगति भएको बताए । “हामी कार्यक्षेत्र गोरखा र लमजुङ हो । चालु आवमा दुवै जिल्लाका लागि नौ सय १५ वटा धारा जडान गर्ने कार्यक्रम छ, त्यसमध्ये करिब ३०० धारा लमजुङमा जडान भएका छन भने बाँकी गोरखामा जडान भएका छन्”, उनले भने ।
एक घर एक धारा कार्यक्रमका लागि कार्यालयमा चालु आवमा रु. ३० करोड ३० लाख बजेट प्राप्त भएको खनालले जानकारी दिए । उक्त रकमबाट दुवै जिल्लामा कार्यक्रम सञ्चालन गरिएको हो । “हालसम्म जिल्लाको ९१ दशमलव पाँच प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । यो तथ्यांक अन्य जिल्लाहरूको तुलनामा धेरै राम्रो हो”, उनले भने। लमजुङमा आधारभूत खानेपानी पहुँच ८५ दशमलव ८८ प्रतिशत रहेको छ भने त्यहाँ हालसम्म करिब १९ हजार ४२० वटा खानेपानी धारा जडान गरिएका छन् ।
कार्यालयले धारा नभएका ठाउँमा जडान गर्ने र धारा भएका ठाउँहरूमा मर्मत सम्भारको काम गरिरहेको छ तर पानीको स्रोत सुनिश्चितताको जिम्मा भने आफूहरूमा नरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुल्सी बस्नेतको भनाइ छ । “पानीको स्रोत सुनिश्चितता र मूल दर्ताको काम भने स्थानीय सरकारको हो । हाम्रो कार्यालयले आयोजना निर्माणको काम मात्र हेर्छ । सोहीअनुसार काम गरिरहेका छौँ”, उनले भने ।
जिल्लामा आर्थिक वर्ष २०७५/७६ देखि एक घर एक धारा अभियान सुरु भएको थियो । अभियानअन्तर्गत पानीको धारा निर्माणको काम करिब सम्पन्न भए पनि मर्मतसम्भार र नयाँ आयोजनाका काम भने निरन्तर सञ्चालन हुने कार्यालयले जनाएको छ ।