–चन्द्रबहादुर बस्याल
नेपाल भौगोलिक दृष्टिकोणले अत्यन्त संवेदनशील देश हो । विश्वको सबैभन्दा जटिल भूगर्भीय संरचनामध्येमा पर्ने कारणले यहाँ भूकम्पको जोखिम सधैं रहन्छ । भारत र युरेसियन टेक्टोनिक प्लेटहरू आपसमा ठोक्किँदै गर्दा नेपाल जस्ता हिमाली क्षेत्रहरूमा ठूलो भूकम्प आउने जोखिम उच्च हुन्छ । इतिहास हेर्दा पनि नेपालमा ठूला भूकम्पले मानवीय, भौतिक, आर्थिक र सामाजिक क्षेत्रहरूमा गहिरो असर पार्दै आएका छन् ।
नेपाल हिमालयन फोल्ड बेल्टमा अवस्थित छ, जहाँ भारतीय प्लेट उत्तरतिर धकेलिँदै युरेसियन प्लेटसँग ठोक्किन्छ । यही कारणले हिमालय उचालिएको हो । यो प्लेटहरूको धक्का एकदमै शक्तिशाली भएका कारण भूमिगत तनाव समय–समयमा सतहमा भूकम्पको रूपमा प्रकट हुन्छ ।
काठमाडौं उपत्यका र पूर्वी, मध्य तथा पश्चिमी पहाडी क्षेत्रहरू यस प्लेट सीमामा पर्छन्, जसका कारण यी क्षेत्रहरूमा जोखिम धेरै छ ।
नेपालको इतिहासमा धेरै पटक भूकम्पले ठूलो विनाश ल्याएको छ । १९९० सालको भूकम्प (सन् १९३४)ले काठमाडौं, भक्तपुर, ललितपुरलगायत धेरै शहरहरू ध्वस्त पारेको थियो । करिब ८ दशमलव २ म्याग्निच्युडको त्यो भूकम्पले झन्डै १७ हजार मानिसको ज्यान लिएको थियो ।
२०७२ साल (सन् २०१५)को विनाशकारी गोरखा भूकम्पले नेपाललाई फेरि एउटा पीडादायी अनुभव गरायो । ७ दशमलव ८ म्याग्निच्युडको त्यस भूकम्पले झन्डै ९ हजार जनाको ज्यान लियो, लाखौं मानिस घाइते भए र लाखौं घर ध्वस्त भए । सांस्कृतिक सम्पदाहरू नष्ट भए, हजारौं विद्यालय, स्वास्थ्य संस्था र सरकारी संरचनाहरू पूर्ण रूपमा ध्वस्त भए ।
मुख्यगरी यसरी ठूलो स्तरमा भूकम्पबाट क्षति हुनुमा एकातिर हामी प्राकृतिक रूपमा जोखिमपूर्ण अवस्थामा छौं भने अर्कातिर हाम्रा पूर्वाधारका संरचनाहरू निकै कमजोर प्रकृतिका छन् ।
नेपालमा घर, विद्यालय, अस्पताल जस्ता भवनहरू बनाउँदा भूकम्पीय जोखिमलाई ध्यानमा राख्ने परिपाटी अझै सुदृढ भइसकेको छैन । ग्रामीण भेगमा अझै कच्ची संरचना, ढुंगा–माटोका घरहरू छन्, जसले गर्दा भूकम्प आएमा धेरै ठूलो क्षति हुन सक्छ ।
शहरी क्षेत्रमा अनियन्त्रित र अराजक विकास, नक्सा स्वीकृत नगरी बनेका भवनहरू, अत्यधिक जनघनत्व र कमजोर संरचना जोखिमका मुख्य कारण छन् । भवन निर्माणको समयमा निर्माण कोडको पालना नगर्नु, प्राविधिक जनशक्तिको अभाव, स्थानीय सरकारहरूको कमजोरी र नागरिकको सचेतना अभावले यो समस्या झन् गम्भीर बनाएको छ ।
भूकम्पले भौतिक संरचनामा मात्र होइन, मानिसको जीवनशैली, मानसिक स्वास्थ्य, रोजगारी, शिक्षा र अर्थतन्त्रमा पनि असर पु¥याउँछ । २०७२ सालको भूकम्पपछि लाखौं मानिस बसोबासविहीन भए, सयौं विद्यालय बन्द भए, बच्चाहरूको पढाइमा वर्षौं असर पर्यो । आर्थिक हिसाबले हेर्दा, अर्बौंको क्षति भएको थियो । पर्यटन जस्तो महत्त्वपूर्ण क्षेत्र थला पर्यो, जुन नेपालको प्रमुख आम्दानीको स्रोत हो ।
२०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सरकारले पुनर्संरचना निर्माणको काम गरिएको छ, जसमा केही सकारात्मक कामहरू भएका छन्, केही अझै पनि अलपत्र अवस्थामै छन् ।
भूकम्पप्रतिरोधी घर निर्माण, स्कुल र स्वास्थ्य संस्थाहरूको पुनर्निर्माण तथा सांस्कृतिक सम्पदाहरूको पुनस्र्थापनामा केही काम भएका छन् । यद्यपि, पुनर्निर्माणमा ढिलाइ, बजेटको अपारदर्शिता, प्रभावित समुदायको उचित समावेशीकरणको अभाव तथा राजनीतिक हस्तक्षेपले अपेक्षाकृत काम हुन सकेन । कतिपय पुनर्निर्माणका काममा सुरुवाती समयमै सही निर्णय नलिँदा समस्या बने, जसका कारण अपेक्षाकृत काम हुन सकेन ।
नेपाल जस्तो भूकम्प सम्भावित देशमा जोखिम न्यूनीकरणका लागि दीर्घकालीन र रणनीतिक योजना आवश्यक छ । यी योजनाहरूमा निम्न कुराहरू समावेश हुनुपर्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, विद्यालयदेखि समुदायसम्म भूकम्पको जोखिमबारे जानकारी, पूर्वतयारी अभ्यास र सुरक्षित स्थानको चिनारी अत्यावश्यक छ । सँगै, नयाँ भवनहरू निर्माण गर्दा इ(िन्जनियरको स्वीकृति र भूकम्पप्रतिरोधी मापदण्डको पालना अनिवार्य हुनुपर्छ । पुराना संरचनाको मूल्यांकन र सुदृढीकरण गरिनुपर्छ । पुराना विद्यालय, अस्पताल र अन्य सार्वजनिक भवनहरूको जोखिम मूल्यांकन गरी सुदृढ बनाउनुपर्छ ।
प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनु आवश्यक छ । इन्जिनियर, सिभिल टेक्निसियन र आपत्कालीन उद्धारकर्मीहरूलाई तालिम दिई परिचालन गर्नुपर्छ ।
सबैभन्दा बढी सरकारी तहबीचमै समन्वय नहुँदा समस्या बढेको देखिन्छ । संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय हुनुपर्छ । नीति, योजना र बजेट पारदर्शी ढंगले प्रयोग हुनुपर्छ । सँगै, आपत्कालीन पूर्वतयारी प्रणाली चुस्त दुरुस्त बनाउनु अहिलेको आवश्यकता हो । भूकम्प आएपछि तुरुन्त उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि तयारी योजना हुनुपर्छ ।
नेपाल सांस्कृतिक सम्पदाको धनी देश हो । २०७२ सालको भूकम्पले दरबार स्क्वायर, मन्दिरहरू, गुम्बाहरू जस्ता धेरै सम्पदा ध्वस्त ग¥यो । यी सम्पदाहरूको पुनर्निर्माण केवल इँटा र काठ जोड्ने काम होइन, यो हाम्रो इतिहास, पहिचान र संस्कृतिको पुनस्र्थापना हो । अतः सम्पदा संरक्षणमा स्थानीय सीप, परम्परागत प्रविधि र सामुदायिक संलग्नता अपरिहार्य छ ।
सरकार मात्रले यस्तो ठूलो खालको जोखिम सामना गर्न सक्दैन । निजी क्षेत्र, अन्तर्राष्ट्रिय विकास साझेदार, गैरसरकारी संस्था र नागरिक समाजको सहकार्य अत्यावश्यक हुन्छ । अन्तर्राष्ट्रिय अनुभव र प्रविधिको उपयोग, आपत्कालीन उद्धार सामग्रीको भण्डारण, राहत तथा उद्धार तालिममा निजी क्षेत्रको लगानी बढ्नुपर्छ ।
निष्कर्षमा, नेपालको भौगोलिक अवस्थाले गर्दा भूकम्पको जोखिम सधैं रहने छ । तर, त्यसको प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ– यदि पूर्वतयारी, सचेतना, नीति निर्माण र संरचनागत विकासमा दीर्घकालीन सोच अपनाइयो भने ।
भूकम्प प्राकृतिक हो तर त्यसले गर्ने क्षति हाम्रो तयारी, जिम्मेवारी र सामूहिक प्रयासमा निर्भर गर्छ । अबको नेपालले विगतका गल्तीबाट सिकेर सुरक्षित, प्रतिरोधी र सहनशील समाज निर्माण गर्नुपर्छ । यस कार्यमा सबै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र आमनागरिकको संयुक्त भूमिका अपरिहार्य छ । भूकम्पको जोखिमसँग जुझ्न सक्ने नेपाल निर्माणका लागि आजैदेखि सही दिशा र दृष्टिकोण आवश्यक छ ।