२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

हामीले रियालिटी सोमार्फत कृषकलाई चिनाउँदै छौं

shivam cement
२०८२ कार्तिक ३० गते ०६:२५
Shares
हामीले रियालिटी सोमार्फत कृषकलाई चिनाउँदै छौं

नेपालको कृषि क्षेत्रमा काम गर्ने कृषक र प्राविधिकलाई देशभर चिनाउने कृषि गेम रियालिटी शो हो रिभोल्युशनरी एग्रिकल्चर वार ‘र’ । कृषि क्षेत्रबाट पलायन भइरहेका युवा जनशक्तिलाई कृषिमा देखिएको सम्भावना र लुकेका कृषकलाई चिनाउने अभियानको रूपमा यस रियालिटी सो सञ्चालन भइरहेको छ । 

देशभरका ७० जिल्लाबाट १३ सय भन्दा बढी किसानबाट छनोट भएका १ सय जनामध्ये शिर्ष २४ जनाले ‘र’ कार्यक्रममा प्रतिस्पर्धा गरिरहेका छन्, जसमा १२ जना कृषक र १२ जना प्राविधिकले प्रतिस्पर्धा गरिरहेका छन् । कृषकलाई चिनाउने रियालिटी सो ले नेपालको कृषि क्षेत्रको विकासको लागि कस्तो भूमिका खेलेको छ भन्ने विषयमा ‘र’ निर्देशक शैलेश कँडेलसँग मध्यान्हका छवि सापकोटाले कुराकानी गरेका छन् ।

रिभोल्युशनरी एग्रिकल्चर वार ‘र’ कस्तो कार्यक्रम हो ?

हाम्रो मुलुक कृषि प्रधान मुलुक हो तर, अहिले कृषि कर्मप्रति आकर्षण निकै नै घटेको छ । नेपालमै उत्पादनको सम्भावना हुने खाद्यान्न देखि तरकारी फलफूल आयात गरेर हामीले खाइरहेका छौं । हामीले कृषि क्षेत्रमा पछिल्लो समयमा देखिएको सम्भावनालाई रियालिटी सो मार्फत देखाउने प्रयास गरेका छौं । हजार प्रतिस्पर्धीबाट एक जना कृषक र प्राविधिक विजेता हुँदा कृषक पनि देश नै प्रतिष्ठित वा चर्चित हुनपर्ने भन्ने कार्यक्रमले सन्देश दिइरहेको छ । 

हामीले चिन्न नसकेका कृषक राज्यका तहदेखि समाजलाई चिनाउने काम ‘र’ ले गरिरहेको छ । यसमा प्रतिस्पर्धा मात्र नभएर मनोरञ्जन समेत पाइन्छ । कृषक क्षेत्रलाई सशक्त बनाइ कृषिलाई व्यवसायीकरणसँग जोड्नका लागि ‘र’ ले काम गरिरहेको छ । 

समाजमा कृषि कर्म गर्ने व्यक्ति अशिक्षित र गरिब मात्र हुदैनन् उनीहरू रोजगारी र आत्मनिर्भर बन्ने कर्ममा लागेका छन् भन्ने सन्देश ‘र’ ले दिन खोजेको हो । 

किसान र प्राविधिकबीच कस्तो प्रतिस्पर्धा उद्देश्य के हो ? 

हाम्रो कृषि परम्परागत हुँदा कृषि प्राविधिकको महत्व देखिएको थिएन तर, पछिल्लो समय कृषकका लागि प्राविधिक किन आवश्यक हुन्छ भन्ने देखाउनका लागि समेत दुवै जनामा प्रतिस्पर्धा गराइएको हो । युवालाई कृषि तर्फ आकर्षित गर्न नसक्ने हो भने अबको केही वर्षमा हामी सबै उपभोग्य वस्तुमा आयातमा मात्रै निर्भर हुन्छौं । त्यसैले कृषि कर्ममा निरन्तर काम गरेर सफल भएको कृषकलाई प्रतिस्पर्धाको मार्फत अगाडि ल्याएर चिनाउने प्रयास कार्यक्रमले गरेको छ । 

‘र’ को महाहोस्टको रूपमा महानायक राजेश हमाल रहेकोले समेत कृषकको लागि सम्भावना र चुनौतीलाई समेत स्पष्ट गर्न सक्छन् । देशको अधिकांश जनसंख्या कृषिमा आश्रित रहेको तथ्यांक छ । हामी सबै कृषक परिवारबाटै हामी आएका छौं तर, अहिले कृषि कर्म गर्न हिच्किचाउने गरेका छौं । नेपालमा कृषि क्षेत्र नाफामुखी नदेखिएकोले कृषि क्षेत्र खुम्चिँदै गएको छ । त्यस्ता कार्यक्रमले कृषिमा अपार सम्भावना छ भनेर देखाउनका लागि प्रतिस्पर्धा मार्फत सन्देश दिन खोजिएको हो । 

प्रतिस्पर्धीले कृषि क्षेत्रमा कस्तो सम्भावना देखेका छन् ?

देशभरका कृषकसँगै छलफल तथा संवाद गर्दा कृषि क्षेत्रलाई धेरै माथि लैजान सकिन्छ भन्ने देखिन्छ । तर, पछिल्लो समय विदेश पलायनको असर यो क्षेत्रमा धेरै देखिएको छ । कृषिमा राम्रो हुँदाहुँदै पनि विदेश गएका धेरै छन्, ती मध्ये केही फर्केर काम गरेका छन् । नेपालमा नै सम्भावना हुँदाहुँदै पनि अरुको देशमा काम गर्न विदेश जानुपर्ने बाध्यतामा समाजको मानसिकता नै पहिलो नम्बरमा देखिन्छ । 

नेपालमा केही पनि हुँदैन भन्ने भाष्यलाई ‘र’ मा सहभागी प्रतिस्पर्धी कृषक र प्राविधिकले सम्भावनाको बाटो देखाउने काम गरेका छन् । नेपालको अर्थतन्त्रको विकासको लागि नेपालमै उत्पादन हुने कृषि उपजलाई आयातमा रोक लगाउने हो भने कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड बन्न सक्छ भन्ने प्रतिस्पर्धी कृषकको माग छ । 

‘र’ ले कृषिमा निरन्तर काम गरेर राम्रो प्रतिफल गरेका तर, लुकेर बसेका ट्यालेन्ट बाहिर ल्याउने काम गरेको छ । किसान जो दिनरात काममा नै व्यस्त हुन्छन् । उनको चर्चा कसैले गर्दैन, चिन्दैन । त्यसैले प्रतिस्पर्धाको मञ्चको रूपमा कृषक चिनाउने अभियान र कृषिमा कृषकले देखेको अवसरलाई कार्यक्रमले महत्व दिएको छ । 

कृषि दिगदार पेसा होइन आकर्षक पेसा हो भन्ने संस्कारको रूपमा ‘र’ कार्यक्रमले देखाएको छ । यस्तै हामीले २४ प्रतिस्पर्धीलाई सेयर समेत दिएर कृषि क्षेत्रको विकासमा काम गरेका छौं । 

जलवायु परिवर्तनले कृषि क्षेत्रमा परेको असरलाई कसरी हेरिएको छ ?
 
यो कार्यक्रमको महत्वपूर्ण सन्देशको रूपमा जलवायु परिवर्तनको कारण कृषकले भोग्नु परेको समस्यालाई पनि देखाउन खोजिएको छ । सो अवस्थामा उद्यमशीलताको विकास कसरी गर्ने भन्ने विषय पनि उठाइएको छ ।

जलवायु परिवर्तनको मारमा सबैभन्दा पहिले अहिले कृषक परेका छन् । रोपाइको बेला पानी नआउने तर काट्ने बेला बेमौसमी वर्षाले कृषकलाई धेरै नै दुःख लिइरहेको अवस्था छ । साथै, जलवायु परिवर्तनको कारण कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । यसैले अब कृषि गर्नेले जलवायुमैत्री काम कसरी गर्ने भन्ने सुझाव निर्णायकहरूले सुझाव दिइरहनुभएको छ ।

ADV

सम्बन्धित खबर