प्राकृतिक विपद् अनुमानबाहिर छ । कतिबेला, कहिले र कुन ठाउँमा प्राकृतिक विपद् आइपर्छ भन्ने अनुमान गर्न सकिँदैन । अझ नेपालको जस्तो भौगोलिक बनोट भएका ठाउँमा यस्ता विपद्को भय र जोखिम सधैं रहन्छ । विशेषगरी बाढी–पहिरो, भूकम्प, शीतलहर, आगलागी/डढेलोलगायतका प्राकृतिक विपद्बाट हामी बारबार पीडित छौं । यस्ता विपद् हरेक वर्ष दोहोरिन्छन् तर हामी, हाम्रो सरकार र जनप्रतिनिधि अनि सरोकारवाला निकायहरू यसको दीर्घकालीन समाधान, पूर्वसावधानी र पूर्वतयारीमा चुकिरहेका पाइन्छ ।
अहिले सुख्खायामको समय हो । डढेलो र आगलागीको जोखिम अत्यन्त बढी हुने गर्छ यो समयमा । वनमा लाग्ने डढेलोका कारण जनधनको ठूलो क्षति हुने गरेको त छँदै छ, घर, टहरामा लाग्ने आगलागीले पनि सताइरहेको छ । गत महिना मात्र आगलागीमा परी १५ जनाको मृत्यु भएको छ भने लाखौं रुपैयाँ क्षति भएको छ । अझै सुख्खा समय रहने हुँदा यसबीचमा आगलागी र डढेलोबाट बच्न पूर्वतयारी गरिहाल्नुपर्ने देखिन्छ । यस्तै, यो सुख्खायामपछि फेरि वर्षायाम सुरु हुन्छ । वर्षाका कारण बढ्ने बाढी–पहिरोको जोखिम सधैं सबैलाई थाहा छ । यसपछि हिउँदमा तराईमा शीतलहरले अत्यास बनाउने गरेको छ । तर, हरेक वर्ष दोहोरिने यस्ता जोखिमबारे सरोकारवाला निकाय मौन छन् ।
देशमा ३ तहका सरकार कायम छन् । यी सरकारको जिम्मेवारी जनताको सुरक्षा, जनधनको सुरक्षा र संरक्षण पनि हो । तर, आमजनले सरकार भएको अनुभूति गर्न सकिरहेका छैनन् । गत वर्षकै बाढी–पहिरोपीडितले पुनस्र्थापित हुन र राहत पाउन नसकिरहेका गुनासो व्याप्त छ । त्यसअघिका जाजरकोट भूकम्पलगायतका विपद्पीडितको उचित व्यवस्थापनमा ढिलाइ कायम छ । यस अवस्थामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले चुस्त र तीव्र उद्धार, राहतका काम गर्न आवश्यक संयन्त्र निर्माण, उपकरण तयारी र पूर्वसावधानीका अन्य उपाय गर्न आवश्यक छ । देशमा सरकार छन्, सुशासन छ, जिम्मेवार जनप्रतिनिधि छन् भन्ने अनुभूति आमजनमा दिलाउन सक्नुपर्छ ।