काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब लुम्बिनी केबुलकारको टिकट खरिदमा २० प्रतिशत छुट पाउने भएका छन् । आईएमई लाइफ र लुम्बिनी केबुलकार प्रालिबीच त्यस्तो छुट दिने सम्झौता भएको हो ।
सम्झौताअनुसार उक्त सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाउनुपर्नेछ भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधा लिन सक्नेछन् ।
यस किसिमको सहकार्यले एकातर्फ कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग गर्ने र कम्पनीका बीमित अभिकर्ता र कर्मचारीहरूलाई पनि निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने कम्पनीको विश्वास छ ।