२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व सङ्कलन

Nada
२०८२ वैशाख १८ गते १३:३८
Shares
यातायात कार्यालयद्वारा ४५ करोड राजस्व सङ्कलन

बागमतीः यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को नौ महिनाका अवधिमा रु ४५ करोड ६६ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

ncell

नयाँ सवारी दत्र्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालू आव २०८१/८२ को साउनदेखि चैत महिनासम्ममा सो कार्यालयले रु ४५ करोड ६६ लाख ८५ हजार पाँच सय ९० राजस्व  सङ्कलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको नौ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट रु सात करोड आठ लाख ७१ हजार तीन सय १४, सवारी करबाट रु २८ करोड २७ लाख ३७ हजार दुई सय ९९, यातायात क्षेत्रको आम्दानीबाट रु सात करोड १५ लाख ७६ हजार नौ सय ९२, सङ्घीयता तर्फ रु तीन करोड १४ लाख ९१ हजार नौ सय ५३ तथा बेरुजुबाट रु आठ हजार दुई सय ५० राजस्व सङ्कलन भएको छ ।

यस्तै चालू आवको सो अवधिमा मोटरसाइकल दुई हजार दुई सय ३४ वटा, साना सवारी आठ सय ४७ वटा, टेम्पो/ई–रिक्सा छ सय २६, ठूला तथा मझौला सवारी छ सय २४ वटा र ट्याक्टर ११ गरी चार हजार तीन सय ५१ नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा नयाँ चार हजार सात सय ८१ र वर्ग थप दुई हजार एक सय ६१ गरी पाँच हजार तीन सय ५९ जनालाई सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

यस्तै सो अवधिमा चार हजार सात सय ८१ नवीकरण, ७६ प्रतिलिपी र ६३ वटा नवीकरण र प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दत्र्ता गरेको थियो । 

सम्बन्धित खबर