२०८२ जेठ १ गते बुधवार / May 14 , 2025 , Wednesday
२०८२ जेठ १ गते बुधवार
Ads

विनियोजन विधेयकमाथि बहस : रासायनिक मलदेखि प्रविधिसम्म प्राथमिकतामा हुनुपर्ने

मध्यान्ह
२०८२ वैशाख ३० गते २०:४९
विनियोजन विधेयकमाथि बहस : रासायनिक मलदेखि प्रविधिसम्म प्राथमिकतामा हुनुपर्ने

काठमाडौं : प्रतिनिधिसभा विनियोजन विधेयक, २०८२ को सिद्धान्त र प्राथमिकतामाथि आफ्ना धारणा राख्दै सांसदहरूले बजेटको प्राथमिकता कृषि, पर्यटन, पूर्वाधार र सूचना प्रविधिमा हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा किसानलाई चाहिने मल, बिउदेखि सूचना प्रविधिसम्म हुनुपर्ने बताएका हुन् ।

सांसद सञ्जयकुमार गौतमले समृद्धिको आधारका रुपमा रहेको कृषि क्षेत्र र किसानलाई बिर्सेको टिप्पणी गर्दै मल, बीउको उचित प्रबन्धसहित खाद्यउपजमा आत्मनिर्भर बन्ने सोचका साथ आगामी आवको बजेट प्रस्तुत गर्न माग गरे । उनले व्यापार घाटा कम गर्ने विषयलाई केन्द्रित गर्दै स्वदेशमै उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्नेगरी आगामी आवको बजेट ल्याउन अनुरोध गरे ।

सांसद भगवती चौधरीले विनियोजन विधेयकले ऊर्जा, पूर्वाधार क्षेत्रको विकासमा जोड दिँदै बजेटलाई थप यर्थाथवादी बनाउन सुझाव दिइन् । सूचना प्रविधि, कृषि, पर्यटनलाई विशेष प्राथमिकतामा राख्न पनि उनले आग्रह गरे । सांसद सूर्यमान दोङले कृषि, पर्यटन, जलविहारमा समेत सहयोग गर्ने सुनकोशी तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक बजेटसहित अघि बढाउन अनुरोध गरे ।

सांसद शिशिर खनालले बजेट विनियोजन, कार्यान्वयन र प्रगतिका विषयमा मूल्यांकन हुनुपर्नेमा जोड दिँदै सूचना प्रविधि क्षेत्रलाई बिस्तार र सहजीकरण गर्नुपर्नेमा थप कर लगाइएको, प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरण निर्माण हुन नसकेको र सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली व्यवस्थित र पारदर्शी नभएकाले त्यसतर्फ ध्यान जाओस भने ।

सांसद रामकृष्ण यादवले मुलुकको भौगोलिक विविधतालाई सम्बोधन गर्दै आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्न सुझाव दिए । उनले नीति तथा कार्यक्रममा ठूला, पूर्वतयारी भएका र लगानी ढाँचा तय भएका आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिनु सकारात्मक पक्ष भएको धारणा व्यक्त गरे ।

उनले कृषि क्षेत्रको प्रवद्र्धनका लागि देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्न, गुणस्तरीय मल बीउको प्रवन्ध गर्न सरकारसँग आग्रह गरे ।

त्यस्तै, राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफलमा भाग लिँदै सांसद गोपाल भट्टराईले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गर्दा सिद्धान्त र प्राथमिकतालाई ध्यान दिनुपर्ने बताए ।

सांसद नारायणदत्त मिश्रले बजेटमा मल र सिँचाइ ध्यान दिनुपर्ने बताए । ‘मल र सिँचाइको व्यवस्था नभई कृषि उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य पूरा हुन सक्दैैन, यी कुरालाई ध्यानमा राखी बजेट ल्याउनुपर्छ’, उनले भने । 

सांसद सावित्री मल्लले रासायनिक मल उत्पादनका लागि मुलुकभित्रै कारखाना स्थापना गरेर आयात प्रतिस्थापन गर्नुपर्ने तथा सिद्धान्त र प्राथमिकतामा यी कुराहरु सम्बोधन गर्न नसकिएको बताइन् ।

सांसद मायाप्रसाद शर्माले अर्थतन्त्रका समग्र क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न  सिद्धान्त र प्राथमिकताले सम्बोधन गर्न नसकेको बताए । ‘सिद्धान्त र प्राथमिकतामा सरकारको गति स्पष्ट देखिएन, उत्पादन र उत्पादकत्व न्यून छ । यसलाई सकरी सम्बोधन गर्ने ?’, उनले प्रश्न गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर