काठमाडौं : काठमाडौंका होटल व्यवसायीहरू राति १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू जबरजस्ती बन्द गराउने सरकारी निर्णयविरुद्ध खुला रूपमा आक्रोशित बनेका छन् । ‘यो नीति पर्यटन प्रवद्र्धन होइन, पर्यटनलाई ठप्प पार्ने उद्देश्यले रहेको देखिन्छ’ उनीहरुले भनेका छन् ।
ठमेल, सुन्धारा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, बसपार्क र कलंकीजस्ता क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल प्रायःरातको समयमा हुने गर्छ । अधिकांश अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू बेलुका ढिलो वा राती हुने हुँदा पाहुना यही समयमा काठमाडौं आइपुग्छन् ।
होटल प्रवेश गर्नासाथ सिटी बजाउँदै प्रहरी होटल, रेष्टुरेन्ट बन्द गराइरहेको दृश्यले विदेशी पाहुना चकित र निराश हुने गरेका छन् ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल भन्छन्, ‘यो कुनै पनि हिसाबले पर्यटनमैत्री नीति होइन । पाहुना होटल आइपुग्छन्, खाना खान चाहन्छन्, सहरको सांस्कृतिक र रात्रिकालीन जीवन हेर्न चाहन्छन् । तर हामीकहाँ नीति यति कठोर छ कि पाहुनाले नेपाललाई पुनः भ्रमण गर्ने सोच समेत बदल्न सक्छन् ।’
बराल थप्छन्,‘आजको काठमाडौं २०–२५ वर्षअघिको जस्तो अब अँध्यारो, असुरक्षित र सुनसान छैन । अहिले यहाँ उज्यालो सडक छन्, नियमित विद्युत् आपूर्ति छ, सीसीटीभी निगरानी छ, र व्यस्त सहरको गति छ । यस्तो अवस्थामा सुरक्षा देखाएर होटल व्यवसाय बन्द गराउनु आफैँमा लाजमर्दो सोच हो ।’
उनीहरूको दीर्घकालीन सोच भनेको ‘चौबीसै घण्टा सञ्चालन’ हो । कारण स्पष्ट छ—होटल क्षेत्रले लाखौंको लगानी बोकेको छ, हजारौंलाई रोजगारी दिएको छ, र विदेशी मुद्रा आम्दानीको स्थायी स्रोत बनेको छ ।
तर व्यवसायीहरू सरकारको मौनताबाट निराश छन् । पटक–पटक जिल्ला प्रशासन कार्यालय, पर्यटन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयमा प्रहरी प्रमुखलगायत सरोकारवाला निकायहरूमा गुनासो राखिँदासमेत सुनुवाइ नहुनु आफूहरूका लागि थप पीडादायक बनेको व्यवसायीहरूले दुखेसो पोखेका छन् ।
सरकारले हालको नीति सुरक्षालाई आधार मानेर लिएको दाबी गर्छ । तर व्यवसायीहरूको प्रश्न छ ‘के अहिलेको प्राविधिक, पूर्वाधारयुक्त, सञ्चार–संवेदनशील युगमा पनि हामी पुरानै डरको धरातलमा जीउनु पर्ने हो ?’
कोरोना महामारीपछि बल्ल उठ्न खोजेको पर्यटन व्यवसायको मुख्य आधार होटेल व्यवसाय छायामा पर्दा देशको अर्थतन्त्रमा समेत असर पर्ने व्यवसायीहरूको ठहर छ, यसर्थ रात्री १० बजे प्रहरीले सायरन बजाएर होटेल बन्द गराउने काम बन्द हुनुपर्ने माग होटेल व्यवसायीहरूको रहेको छ ।
काठमाडौंका होटलहरू चाँडै बन्द हुने कुराले यहाँबाट फर्किने भारतीय पर्यटकहरूले भारतमा नकारात्मक सन्देश पुर्याउने सम्भावना रहन्छ । यस्तो अवस्थाले नेपालको पर्यटन क्षेत्रलाई प्रतिकूल असर पर्न सक्छ, त्यसैले होटल तथा व्यवसायहरूले पर्यटकमैत्री सेवा र समय व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ ।