म्याग्दी : विगत तीन दशकयता ऐतिहासिक स्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरू नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा भर्दिवम मल्लले निर्माण गर्न लगाएका चार ओटा कुवा र अन्य ऐतिहासिक सम्पदाहरू नासिएका स्थानीयले बताएका छन् ।
स्थानीयले पानीको स्रोतका रूपमा निर्माण गरेका २० ओटाभन्दा बढी कुवा र पँधेराहरू गाउँ गाउँमा मोटर बाटो र विकास पूर्वाधारहरू निर्माण गर्ने क्रममा नासिएका स्थानीय ८५ वर्षीय बेदप्रसाद उपाध्यायले बताए । “बि.सं.२०५० सम्म गोश्वारा, तमाने, सानालेख, भकुण्डे, फापरखेत, रोहोटे, खबरा, बगरफाँटलगायत ठाउँमा रहेका कुवा र पँधेराको हाल नामोनिसान मेटिएको छ । बाँकी रहेका पुराना केही कुवा र पँधेरा पनि पुरिन थालेका छन्”, उनले भने, “खानेपानीको संकट बढ्दै गएको छ तर सयौँ वर्ष पहिले निर्माण गरिएका कुवा र पँधेरा भने नासिँदै गएका छन् । यिनको संरक्षण गर्न सक्ने हो भने मूलको चिसो र सफा पानी खान पाइने थियो ।”
बेनी नगरपालिका-२ मा पर्ने ज्यामरुककोट प्राकृतिक सुन्दरता, जैविक विविधता, ऐतिहासिक सम्पदाले सम्पन्न छ । यहाँ पर्यटन प्रवर्धनका लागि मोटर बाटोलगायत संरचना बन्न थालेपछि कुवा, पँधेरालगायतका प्राचीन सम्पदा भने नासिँदै गएका समाजसेवी भीमबहादुर पौडेलको भनाइ छ ।
ज्यामरुककोटवासी कुवाको पानीमा भर पर्न छोडेको तीन दशक भइसकेको छ । अस्तित्व बाँकी रहेका केही कुवा पनि जीर्ण अवस्थामा छन् । पानीको हाहाकार हुने अवस्था आइरहेका बेला यस्ता स्रोतहरूको संरक्षणमा लाग्न आवश्यक रहेको शिक्षक टीकाबहादुर कार्कीको भनाइ छ ।
बेनी नगरपालिका-२ खबराका चन्द्रबहादुर कार्की विकासका गतिविधि सञ्चालन गर्दा वातावरणीय प्रभाव र अन्य प्राकृतिक सम्पदाको संरक्षण पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताउँछन्। कुवा र पँधेरा मात्रै होइन गाउँघरबाट देवल, मूर्ति, चौतारी, पोखरी, मठ, मन्दिर, ढिकी जाँतो, घट्ट, ठेकाठेकी, घुमाउने घर, ढुंगेधारालगायत रैथाने सीप र ऐतिहासिक सम्पदा हराइरहेकामा उनले चिन्ता व्यक्त गरे ।