२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा

Nada
२०८२ जेठ २ गते ०७:२५
Shares
आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा

काठमाडौँ : जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ । संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय भएको छ । आजदेखि सुरु हुने सो कार्यक्रम यही जेठ ४ गतेसम्म सञ्चालन हुने छ ।

ncell

परराष्ट्र मन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा.आरजु राणा देउवाका अनुसार, सो सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली सहभागी हुने छन् । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आइसकेका छन् भने अन्य मुलुकका विशिष्ट अतिथि आउनेक्रम जारी छ ।

उद्घाटन समारोहमा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ ।

संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ । उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ । यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय सङ्गठनको प्रस्तुति रहने छ । 

आजै छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुने छ । सबै सत्र शनिबार ४:३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ । राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ ।

सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी सङ्गठन एवं संस्थाले भाग लिने छन् ।

संवाद आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय गठन गरिएको छ । संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक ‘प्लेनरी सेसन’, समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको सचिवालयका सदस्यसचिवसमेत रहेका वन मन्त्रालयका सहसचिव डा.महेश्वर ढकालले जानकारी दिए । तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ भने संवादको काठमाडौँ घोषणा जारी गरिने छ । 

नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु संकट समाधानमा विश्वका असल अभ्यास तथा समाधानका उपाय सिक्नका लागि  संवाद  उपयोगीसिद्ध हुने बताइएको छ । संयुक्त राष्ट्रसंघले यो वर्ष २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइनेछन् । 

सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्त्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ । यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको छ । यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो । प्रत्येक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने सरकारले यसअघि नै निर्णय गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर